सूर्य नेपाल च्यालेन्ज प्रो–एम सम्पन्न, प्रो रामे मगरको टिमलाई उपाधि

शनिबार, १० जेठ २०८२, १६ : ५२

काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि प्रोफेशनल खेलाडी रामे मगरको टिमले जितेको छ। 

रोयल नेपाल गल्फ क्लबमा रामेको टिमले १ सय २४ अंक सहित उपाधि जितेको हो। एमेच्योर गल्फरहरू सत्यजंग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे। 

प्रो भुवन नगरकोटीको टिमले १ सय १७ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ। टिमका एमेच्योर खेलाडीहरु रविन्द्र पुरूष ढकाल, मुक्ति सेन गुरूङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए। यस्तै प्रो रमेश अधिकारीको टिम १ सय १४ स्कोर सहित तेस्रो भयो। एमेच्योर खेलाडीहरु स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरूङले ३७ स्कोर गरे। 

महिलातर्फ अञ्जली योञ्जनले ३९ स्कोरमा राष्ट्रिय टिमकी खेलाडी तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै ट्रफी जितिन्। 

यसैगरी झलेन्द्र भट्टराईले लंगेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते। प्रो–एममा कुल ९० एमेच्योर गल्फरको सहभागीता रहेको थियो। 

प्रतियोगिताका विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। 

हिजो सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए। उनले समग्रमा १७–अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका थिए। 

अब सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। प्रो–एम जुन १४ मा हुने बताइएको छ।

शनिबार, १० जेठ २०८२, १६ : ५२

प्रतिक्रिया