सगरमाथा आरोहण स्मरणमा ‘भर्टिकल च्यालेन्ज कप २०२५’ सम्पन्न

सोमबार, १२ जेठ २०८२, ११ : ०७

काठमाडौं– पहिलो पटक सगरमाथाको दक्षिण (नेपाल) र उत्तर (चीन) दुबै बाटो हुँदै सफलतापूर्वक आरोहण गरेकी पत्रकार कल्पना महार्जनको २०१८ र २०१९ मे २३ का दिन सम्पन्न अविस्मरणीय यात्राको सम्झनामा आयोजना हुँदै आएको ललितपुर क्लाइम्बिङ फेस्टिभल यस वर्ष छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न भएको छ।

यस संस्करणको मुख्य आकर्षण ‘मे २३ केएमइए छैठौं भर्टिकल च्यालेन्ज कप २०२५’ प्रतियोगिता रह्यो, जुन झम्सिखेलस्थित एसेडन्ड क्लाइम्बिङ सेन्टरमा सम्पन्न भयो। नेपाल स्पोर्ट क्लाइम्बिङ संघ र काठमाडौं उपत्यका विशेष समितिको संयोजनमा तथा माउण्टेन एभेन्च्योर स्पोर्ट्स एकेडेमीको सहकार्यमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका हुन् । मन्त्री चौधरीले उद्घाटन समारोहमा आफैं क्लाइम्बिङ वाल चढेर सहभागी बाल खेलाडीहरूसँग उत्साह बाँडेका थिए । उनले क्लाइम्बिङ खेललाई राष्ट्रिय नीति, योजना र पूर्वाधारमा समेट्ने सरकारको प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।

प्रतियोगिता स्पीड क्लाइम्बिङ विधामा आयोजना गरिएको थियो, जसमा चारदेखि अठार वर्ष उमेर समूहका ६५ जना खेलाडीहरूले प्रतिस्पर्धा गरे। अन्तर्राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ महासंघ (IFSC) को नियमअनुसार दुई स्पीड रुट—‘ए’ र ‘बी’—मार्फत नकआउट फर्म्याटमा प्रतिस्पर्धा गरियो। मुख्य रुट सेटर निरज कार्कीले तयार पारेका चुनौतीपूर्ण ट्र्याकहरूमा खेलाडीहरूले उत्साहपूर्वक आफ्नो क्षमता प्रदर्शन गरे।

महिलातर्फ सन्सीला तामाङले पहिलो स्थान हासिल गरिन् भने केकशा खान र पूजा दनुवार क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। पुरुषतर्फ भने साबिन बञ्जनले शीर्ष स्थान हासिल गर्दै प्रतियोगिता जिते। उनलाई दिपेन्द्र दनुवारले नजिकबाट पछ्याए भने तेस्रो स्थान रतन कडायतले प्राप्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आयोजक एनसीएसएले राष्ट्रिय खेलाडीको प्रमाणपत्र प्रदान गरेको छ। यसअन्तर्गत पुरुषतर्फ साबिन बञ्जन, दिपेन्द्र दनुवार, रतन कडायत, दिपेश दनुवार, अरुण दनुवार, आशिष मगर, कृष्ण कुमार, सोम तामाङ, अमित कार्की, जेसस खत्री, एशियन रायमाझी, शीतल जीसी र धनञ्जय राज रेंजर गुरुङलाई राष्ट्रिय खेलाडी घोषणा गरिएको हो।

महिलातर्फ भने सन्सीला तामाङ, केकशा खान, पूजा दनुवार, इन्दु दनुवार, मरियम ठोकर, प्रतिमा बस्नेत, बिनिशा नगरकोटी, प्रीति शाह, तृष्णा केसी, दीपाशा दनुवार, बियान्का महर्जन र प्रविशा पोखरेललाई यो सम्मान प्रदान गरिएको छ।

विशेष क्षमताका खेलाडी शिशन महर्जनलाई राष्ट्रिय पैरा खेलाडीको मान्यता दिइएको छ भने, मात्र ४ वर्षको उमेरमा सहभागी भएका युवराजी महर्जन प्रतियोगिताका सबैभन्दा कान्छा प्रतिस्पर्धीको रूपमा विशेष आकर्षण बने।

सोमबार, १२ जेठ २०८२, ११ : ०७

प्रतिक्रिया