तेस्रो रुकुम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

मंगलबार, २७ जेठ २०८२, १४ : ५६

रुकुमश्चिम-  तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ । मुसिकोट नगरपालिका–१ खलंगामा सम्पन्न  फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो । 

बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बौदीकालीमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेका हिमाल सुनारी, सरोज बर्देवा र राजन दर्लामी मगर तथा हाम्रो सरोकारमा धनबहादुर भट्ट, विष्णु बस्नेत र मनोज घिमिरे सम्मिलित थिए । उपाधिसँगै बौदीकालीले रु ५ लाख ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिए । 

यसैगरी उपविजेता नवलपुरको हाम्रो सरोकारले रु २ लाख ६१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । रुकुम पश्चिमको ‘टिम खनाल’ तेस्रो तथा सल्यानको वनगाड कुपिण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । दुवै टोलीले क्रमशः रु एक लाख ५१ हजार र रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए । 

महिलातर्फ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले उपाधि जितेको छ । फाइनल खेलमा रुकुम पूर्वको जनज्योति युवा विकास केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो । उसले योसँगै रु एक लाख नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता जनज्योतिले रु ७५ हजार, तेस्रो भएको रुकुम भलिबल टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको रुकुम पूर्वको सीमा भलिबल क्लबले रु २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ । 

मंगलबार, २७ जेठ २०८२, १४ : ५६

प्रतिक्रिया