काठमाडौं– ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ पालिकाबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । बैठकले विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जगेर्ना हुने गरी काम गर्ने निर्णय गरेको छ ।
हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिका बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।
त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी ११ वटा पालिकाको सहभागिता रहेको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।
पदमार्गले छोएका पालिकाबीच गरिएको कार्यक्रमले पदमार्गको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । बैठकमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले पदमार्गको समग्र विषयमा छलफल भएको छ । बैठकले पदमार्गलाई रैथाने खाना र संस्कृतीको रूपमा पहिचान गराउने निर्णय पनि गरेको छ । -रासस
प्रतिक्रिया