काठमाडौं- उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दैछन् ।
‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।
उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने छ । मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भए पछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया