नेपालले जित्यो एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि

शनिबार, २१ असार २०८२, १३ : १७

काठमाडौं- सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ।

अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। 

शनिबार बिहान भएको फाइनल खेलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। 

नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका हुन्। 

विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे। प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए।  रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी १ रनमा आउट भए। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।  सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए। 

विपिनप्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे। 

सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे। कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। 

 
शनिबार, २१ असार २०८२, १३ : १७

प्रतिक्रिया