काठमाडौं— फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय खनारले १० जना बेरोजगार तथा आर्थिक रुपमा कमजोर व्यक्तिलाई सिटी सफारी हस्तान्तरण गरेको छ।
असार २० गते आयोजित एक कार्यक्रमबीच सो संस्थाले बिराटनगरस्थित श्री गणपति पिजी एण्ड सप्लायर्स कम्पनीमार्फत रु २,६५,००० मुल्य पर्ने सिटी सफारी खरिद गरी सहुलियत ब्याजदरमा वितरण गरेको हो। यो कार्यक्रमबाट ज्यालामजदुरी गरेर जीविका चलाउन समेत मुस्किल परेका, एक जना कमाउने र धेरै सदस्यको परिवार पाल्नुपर्ने व्यक्तिहरूलाई रोजगारी सिर्जना गर्ने अवसर प्रदान गरिएको संस्थाले जनाएको छ।
सफारी हस्तान्तरणका अवसरमा फरवार्ड माइक्रोफाइनान्सका कर्जा विभाग प्रमुख बचन कुमार चौधरी र शाखा प्रमुख सिमला कुमारी चौधरीले संयुक्त रूपमा सफारी चाबी हस्तान्तरण गरेका थिए। सफारी वितरण अघि सहभागी लाभग्राहीलाई आवश्यक तालिमसमेत प्रदान गरिएको थियो।
फरवार्ड माइक्रोफाइनान्सले उक्त सवारी वितरणबाट स्वरोजगारका अवसर सिर्जना भई लाभग्राहीहरूलाई परिवारको आर्थिक अवस्था सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
सफारी प्राप्त गर्ने लाभग्राहीहरूमा प्रबिन चौधरी, कारी लाल चौधरी, खातुन बेगम, धनिन्द्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मो. सजाद रहेका छन्।
स्थानीयस्तरमा स्वरोजगार अभिवृद्धि र गरिबी घटाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया