काठमाडौं- नेपाल टेनिस संघले डेभिस कपका लागि नेपाली टोली छनोट प्रक्रियाबारे उठेका प्रश्नप्रति प्रतिक्रिया दिंदै छनोट निष्पक्ष, पारदर्शी र प्रदर्शन आधारित रहेको स्पष्ट पारेको छ।
खेलाडी अभिषेक बास्तोलासम्बन्धी उठेका आरोपहरूलाई सम्बोधन गर्दै संघले, अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) को २०२४ को वरीयतामा शीर्ष २ हजारभित्र रहेका अभिषेक बास्तोला र नेपाल नम्बर एक प्रदीप खड्कालाई सोही आधारमा प्रारम्भिक टोलीमा समावेश गरिएको जनाएको छ।
तर सन् २०२५ मा अभिषेक बास्तोलाले आईटीएफ प्रतियोगितामा पर्याप्त सहभागिता नजनाएका कारण वरीयतामा गिरावट आएको र प्रत्यक्ष समावेशको मापदण्डमा नपरेपछि उनलाई वाइल्ड कार्डमार्फत छनोट खेलमा सहभागी हुन मौका दिइएको संघको भनाइ छ। तर बास्तोलाले त्यसको सट्टा गुआममा आयोजना हुने आईटीएफ प्रो प्रतियोगिता रोजेकाले उनी टोलीमा परेनन्।
संघका अनुसार डेभिस कप छनोट खेलको मिति २०७९ साल वैशाख १३ गते (२०२५ अप्रिल २६) मा नै सार्वजनिक भइसकेको थियो र आईटीएफले निर्धारण गरेको अन्तिम नामावली पेश गर्ने समयसीमा परिवर्तन गर्न नसकिने अवस्था थियो।
‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य सबै खेलाडीलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन,’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अभिषेक बास्तोलाले सामाजिक सञ्जालमार्फत संघमाथि लगाएका आरोपहरूको पनि खण्डन गर्दै संघले यस्तो आरोपप्रति खेद प्रकट गर्दै आफू सधैं निष्पक्ष, पारदर्शी र योग्यता आधारित छनोट प्रक्रिया अपनाउने प्रतिबद्धतामा दृढ रहेको जनाएको छ।
संघले डेभिस कप टोली चयन पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र प्रदर्शनमा आधारित रहेकाले यसबारे गलत भ्रम नछर्न आग्रह गरेको छ ।
प्रतिक्रिया