भारतले घटाएको भन्सार शुल्कको मारमा नेपाली खाने तेल उद्योग

शुक्रबार, ०२ साउन २०८२, १० : ०३

काठमाडौं–भारतले खानेतेलको कच्चा पदार्थ आयातमा लगाउने भन्सार शुल्क घटाएपछि नेपालका तेल उद्योगको उत्पादनमा कमी आएको छ । भारतले भन्सार दर २७ प्रतिशतबाट १७ प्रतिशतमा झारेपछि नेपाली उद्योगले भारतीय बजारमा निर्यात गर्दै आएको खाने तेल उत्पादन करिब ५० प्रतिशतले घटेको हो । यसले गर्दा लगानी गर्दै आएका उद्योग संकटमा जान लागेको उद्यगीले बताएका छन् ।

अघिल्लो समयमा भारतले कच्चा तेल आयातमा २७ प्रतिशत भन्सार लिने गरेको थियो । नेपालबाट निर्यात गर्दा साफ्टा सुविधाका कारण भन्सार तिर्नु परेको थिएन । नेपाली उद्योगले भारतीय बजारमा खानेतेल निर्यात गरी उचित नाफा कमाएका थिए । भन्सार दर घटेसँगै भारतमा उत्पादित तेल नेपाली तेलभन्दा प्रतिलिटर ८ देखि ९ रुपैयाँ सस्तो भएको छ । नेपाली उत्पादन भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा छ । हाल नेपाली उद्योगले उत्पादन कटौती गर्न बाध्य भएका हुन् ।

नेपालमा हाल २७ वटा वनस्पति तेल उद्योग छन् । भारतलाई नै नेपाली उद्योगहरूको प्रमुख निर्यात बजार मानिएको छ । भारतले भन्सार शुल्क घटाएसँगै नेपाली उद्योगहरूले प्रतिस्पर्धा गर्न मुश्किल परेको चिन्ता व्यक्त गरिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ । यसमा प्रशोधित भटमास तेलको निर्यात सबैभन्दा ठूलो रहेको छ । सनफ्लावर तेल, पाम तेल र अन्य तेलको पनि निर्यात भएको छ।

 
 
शुक्रबार, ०२ साउन २०८२, १० : ०३

प्रतिक्रिया