फेसियल हाउसबारे भ्रम फैल्याउनेविरुद्ध साइबर ब्युरोमा उजुरी

शुक्रबार, ०९ साउन २०८२, १७ : १४

काठमाडौं–युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ ले आफ्नो नाम र प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक प्रचार सामग्री बनाइ सामाजिक सञ्जालमा पोष्ट गर्नेहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ । फेसियल हाउसले संस्थाविरुद्ध अफवाह फैलाएर बदनाम गर्न खोज्नेहरूविरुद्ध साइबर व्युरो र अदालतमार्फत कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका अनुसार हाल विभिन्न व्यक्तिहरूले फेसियल हाउससँग कुनै पनि औपचारिक सम्बन्ध नराखी संस्थाको नाम र लोगो दुरुपयोग गरेर सामाजिक सञ्जालहरूमा झुटा भिडिओ क्लिप तथा सामग्रीहरू पोस्ट गरिरहेका छन् ।

उनले भनेकी छिन्, ‘संस्थाको छविमा आँच पुर्‍याउने जस्ता अनावश्यक गतिविधि कुनै हालतमा स्वीकार्य छैन । यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत प्रक्रिया अगाडि बढाइएको छ ।’

फेसियल हाउसले आम सेवाग्राही तथा नागरिकहरूलाई यस्ता ‘फेक’ प्रचारप्रति सचेत रहन आग्रह गरेको छ । साथै, भविष्यमा कुनै गुनासो वा प्रश्न भएमा फेसियल हाउसको आधिकारिक कार्यालयमा सम्पर्क गर्न प्रबन्ध निर्देशक महराले अनुरोधसमेत गरेकी छिन् ।

शुक्रबार, ०९ साउन २०८२, १७ : १४

प्रतिक्रिया