नेपालमा एमसीसी परियोजना कार्यान्वयन

एमसीए नेपालको पूर्वाधार निर्माणमा तीव्रता, विद्युत र सडक आयोजनामा लगानी केन्द्रित

कुन आयोजनामा कति प्रगति ?

बुधबार, २८ साउन २०८२, ०९ : ५३

काठमाडौ– नेपालमा सहज तरिकाले विजुली उपलब्ध गराउन प्रसारण लाइन बनाउने एवं यातायातको सुविधालाई अझ सहज बनाउनका लागि सडक मर्मत गर्ने उद्देश्यले ल्याइएको एमसीए–नेपाल (मिलेनियम च्यालेञ्ज एकाउण्ट) को १७.४९ प्रतिशत रकम खर्च भएको छ ।  एमसीए–नेपाल (मिलेनियम च्यालेञ्ज एकाउण्ट) को चालू र पूँजीगत गरि २ अर्ब ३३ करोड ७६ लाख १७ हजार २ सय २९ दशमलव शून्य दुई रुपैयाँ खर्च भएको हो । 

नेपालमा विद्युत आपूर्ति र मागबीच भारी अन्तर छ । सुख्खा मौसममा नेपालको विद्युत ग्रीडले विजुलीको कुल मागको आधा मात्रै धान्ने गर्दछ । एमसीए–नेपालले कुल ५८ करोड २४ लाख अमेरिकी डलर लगानी गरेर विद्युत प्रसारण आयोजना निर्माण गरिरहेको छ । यसले राष्ट्रिय ग्रीडमा बिजुलीको उपलब्धता र सुधार गरि आन्तरिक विद्युतको उपभोगमा बृद्धि ल्याउने विश्वास लिइएको छ । आयोजनाले नेपाल–भारतसम्मको पूर्वाधार तयार गर्नेछ । 

नेपालमा सडकको खराब अवस्था, न्युन प्रभावशाली ढुवानी सेवा र अपर्याप्त सडकका कारण व्यापार–व्यवसायको लागत महंगो बनिरहेको छ । नियमित सडक मर्मतसम्भारका लागि पर्याप्त बजेट पनि उपलब्ध छैन । यसका लागि प्रयोग गरिने विधि पनि अन्तराष्ट्रिय सर्वोत्कृष्ट अभ्यास अनुसार छैन । एमसिए–नेपालको सडक मर्मत आयोजनाले १ सय ३० किलोमिटर रणनैतिक सडक सञ्जालको मर्मत सम्भार गर्नेछ । यसका  लागि ५ करोड ४९ लाख अमेरिकी डलर लगानी सडक मर्मत आयोजनामा गरिएको छ । नेपालमा यो राष्ट्रिय गौरवको आयोजना सुरु भएको ३ वर्ष भइसकेको छ । आयोजनाको निर्माण कार्य अघि बढिरहेको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल ( एमसीए–नेपाल) : बिनियोजित बजेट र खर्च

मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) को जम्मा पूँजीगत र चालू खर्च १७.४९ प्रतिशत भएको छ । ‘चालू तर्फ ६१ करोड ५१ लाख ४९ हजार ५ सय ४३ दशमलव तीन तीन रुपैयाँ खर्च भएको छ । उता, पूँजीगततर्फ १ अर्ब ७२ करोड २४ लाख ६८ हजार ८५ दशमलव छ नौ रुपैयाँ खर्च भइसकेको छ । चालू र पूँजीगत गरि जम्मा २ अर्ब ३३ करोड ७६ लाख १७ हजार ६ सय २९ दशमलव शून्य दुई रुपैयाँ खर्च भएको हो ।’, महालेखा नियन्त्रक कार्यालयले जानकारी गराएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) का लागि नेपाल सरकारले १३ अर्ब ३६ करोड १८ लाख ६४ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । यसमा पूँजीगततर्फ १२ अर्ब १२ करोड १८ लाख ३७ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालूतर्फ १ अर्ब २४ करोड २७ हजार रुपैयाँ विनियोजन गरिएको हो । 

‘मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) मा नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानी रहेको छ । त्यसैगरि, मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) मा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अनुदान रहेको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) मा नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को ६९.७ अमेरिकी डलरको संयुक्त लगानी रहेको छ । उक्त विनियोजित रकमले नेपालमा विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजनाको निर्माण गरिने छ ।’, मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) ले जनाएको छ ।

 एमसीए–नेपाल  : विद्युत प्रसारण आयोजनामा के भइरहेको छ ?

नेपालमा विद्युत आपूर्ति र मागबीच ठुलो अन्तर छ । सुख्खा मौसम र न्यून नदी प्रवाह भएको समयमा नेपालको विद्युत ग्रीडले विजुलीको कुल मागको आधा मात्रै पूरा गरेको अवस्था छ । एमसिए–नेपालले कुल ५८ करोड २४ लाख अमरिकी डलर लगानी गरेर विद्युत प्रसारण आयोजना निर्माण गरिरहेको छ । यसले राष्ट्रिय ग्रीडमा बिजुलीको उपलब्धता र सुधार गरि आन्तरिक विद्युतको उपभोगमा बृद्धि ल्याउने विश्वास लिइएको छ । आयोजनाले नेपाल–भारतसम्मको पूर्वाधार तयार गर्नेछ । 

नेपालको बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा बन्ने सीमापार प्रसारण लाइन निर्माण कार्यलाई समेत सहजीकरण गर्नेछ । प्रसारण लाइनसम्बन्धि करिब ३ सय १५ किलोमिटर लामो डबल सर्किटयुक्त ४ सय केभि प्रसारण लाइन डिजाइन गर्न तथा निर्माण गर्नमा आयोजनाको ध्यान केन्द्रित छ । नेपालको विभिन्न नदी क्षेत्र तथा विद्यमान उच्च क्षमतायुक्त ग्रीडबीच भइरहेको जोडाइको अभावलाई यस आयोजनाले सम्बोधन गर्नेछ ।  

विद्युत प्रसारण आयोजना अन्तर्गत ३ वटा नयाँ ४ सय केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब–स्टेसन निर्माण आयोजनाले गर्नेछ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब–स्टेशन निर्माण गरिने छ । निर्माणाधीन प्रसारण लाइन काठमाडौँ जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित नेपाल विद्युत प्राधिकरणका विद्यमान सब–स्टेशनहरुमा जोडिनेछ । 

एमसिए–नेपालले विद्युत प्रसारण टावरहरुको जग निर्माणका लागि प्राप्ति गर्ने जग्गाको मुआब्जा सिफारिस गर्न काठमाडौँबाहेक नौ जिल्लामा गठित उप–समितिहरुले स्थलगत अवलोकन भ्रमण २०८० साल चैतमा सम्पन्न गरेका छन् । नौ जिल्लामध्ये ७ वटा जिल्लामा सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र नुवाकोट र पाल्पा जिल्लामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरुको नेतृत्वमा रहेका उप–समितिहरुले स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेका हुन् । 

‘एमसिए–नेपालले रातमाटे सब–स्टेशन निर्माणस्थल बेलकोटगढी नुवाकोटमा प्राप्ति गरिएको २०.२७ हेक्टर जग्गामा तारबार निर्माण गरिसकेको छ । यसले निर्माणका लागि प्राप्ति गरेको जग्गाको सीमा छुट्याएको छ । क्षतिपूर्ति भुक्तानी गरी १ सय ४ घरधुरीबाट उक्त जग्गा प्राप्ति गरेको हो । विद्युत प्रसारण आयोजना अन्तर्गत ४ सय केभीका ३ वटा सबस्टेशन मध्ये रातमाटे सबस्टेशन पनि एक हो ।’, मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) ले जानकारी दियो, ‘एमसिए–नेपालले २०८० साल चैतसमम्ममा चितवन, धादिङ, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र तनहुँ गरी सात जिल्लामा रुख गणना कार्य सम्पन्न गरिसकेको छ ।’

नौ वटा जिल्लामा प्राप्ति गरिने जग्गा कित्ताका पूर्ण विवरणसहितको सार्वजनिक सूचना जग्गा ऐन, २०३४ को दफा ९ अनुसार प्रकाशित गरिसकेको छ । सूचना प्रकाशित गरिएपछि प्राप्ति गरिने जग्गाका लागि मुआब्जा सिफारिश गर्न गठन गरिएका क्षतिपूर्ति निर्धारण समितिहरुका उप–समितिहरुले नौ वटै जिल्लामा स्थलगत प्रमाणीकरण पनि सम्पन्न भइसेकेको छ । 

विद्युत प्रसारण आयोजना अन्तर्गत विद्युत प्रसारण टावरका जगहरु निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा दर उक्त आयोजनाबाट प्रभावित हुने ५ वटा जिल्लामा निर्धारण गरिएको छ । विद्युत प्रसारण आयोजना अन्तर्गत विद्युत प्रसारण टावरका जगहरु निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा दर चितवन जिल्लामा २०८१ साल भदौ २८ गते, तनहुँ जिल्लामा भदौ २६ गते, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा असार २३ गते, मकवानपुर जिल्लामा बैशाख २८ गते र धादिङ जिल्लामा बैशाख १८ गते निर्धारण गरिएको हो ।

एमसीए–नेपाल : सडक मर्मत आयोजनामा के भइरहेको छ ?

नेपालमा सडकको खराब अवस्था, न्युन प्रभावशाली ढुवानी सेवा र अपर्याप्त सडकका कारण व्यापार–व्यवसायले उच्च लागत बेहोरिरहेको छ । नियमित सडक मर्मतसम्भारका लागि पर्याप्त बजेट पनि उपलब्ध छैन । यसका लागि प्रयोग गरिने विधि पनि अन्तराष्ट्रिय सर्वोत्कृष्ट अभ्यास अनुसार छैन । एमसिए–नेपालको सडक मर्मत आयोजनाले १ सय ३० किलोमिटर रणनैतिक सडक सञ्जालको मर्मत सम्भार गर्नेछ । नेपालको सडक मर्मत बजेट विस्तारलाई प्रोत्साहन गर्न मिलान कोषको व्यवस्थापमार्फत  नेपालको रणनैतिक सडक सञ्जालको गुणस्तरमा सुधार गर्नु एमसिए–नेपालको उद्देश्य रहेको छ । यसका  लागि ५ करोड ४९ लाख अमेरिकी डलर लगानी सडक मर्मत आयोजनामा गरिएको छ । सडक विभाग र सडक बोर्ड नेपालको निर्माण क्षमता अभिबृद्धिका लागि प्राविधिक सहयोगमा पनि यो रकम खर्च गरिने छ । 

‘पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड मर्मत कार्य फूल डेप्थ रिक्लेमेशन प्रविधि प्रयोग गरी गर्नका लागि तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २०८१ साल भदौ २ गते स्वीकृत भइसकेको छ ।’, मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसिए–नेपाल) ले आजको अर्थलाई जानकारी दियो, ‘एफडब्लूडी उपकरण प्रयोग गरी तथ्याङ्क संकलनका लागि सडक विभागसँगको सहकार्यमा फलिङ वेट डिफ्लेक्टोमिटर (एफडब्लूडी) उपकरण प्रयोग गरी ४ वटा प्रमुख सडक खण्डको डिफ्लेक्सनसम्बन्धि तथ्याङ्क संकलन २०७९ साल चैत २७ गते गरेको हो ।’ 

तथ्याङ्क संकलन कार्य चितवन जिल्लामा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डमा गरिएको थियो । नारायणगढ–मुग्लिन, कञ्चनपुर–नादाहा, धरान–धुनकुटा हिले र धानखोला–लमही सडक खण्डमा तथ्याङ्क संकलन गरिएको हो । एमसिए–नेपालको सडक मर्मत आयोजना टोलीले २०७९ साल मंसिर २५ देखि २८ गतेसम्म आयोजनाको कार्यक्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्डमा सम्पत्ति पुष्टिकरण तथा सामाजिक–आर्थिक सर्वेक्षण गरेको छ । आयोजनाबाट प्रभावित हुने सडक छेउका संरचनाहरुको मूल्याङ्कन गरि क्षतिपूर्तिका लागि योग्य प्रभावित घरपरिवारको पहिचान गर्ने उद्देश्य थियो । सडक मर्मत कार्य गर्नका लागि त्यहाँको ४० किलोमिटर सडक खण्ड छनोट गरिएको हो ।                         
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
बुधबार, २८ साउन २०८२, ०९ : ५३

प्रतिक्रिया