काठमाडौ– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको छ । सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५९.७३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५१.१ प्रतिशत भएको हो ।
हाल मुख्य टनेलको भुँइ भागको १ हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ) को काम सकिएको छ । हाल सुरुङमार्गभित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ । सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो १३० मिटर छ ।
पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम सकिएको छ । दोस्रो बाइपासमा इन्भर्टको काम १५७ दशमलव आठ र आठ दशमलव तीन मिटर लाइनिङको काम सकिएको छ । यस्तै सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम १०४ दशमलव २ मिटर भइसकेको छ ।
दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ ।
सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा काम गरिरहेको छ । २०८३ सालमा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ ।
प्रतिक्रिया