काठमाडौं–नेपाल सरकार र कोरिया गणतन्त्र सरकारबीच बुधवार ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास’ परियोजना कार्यान्वयनका लागि ९ मिलियन अमेरिकी डलर (करिब १ अर्ब २५ करोड) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र कोरिया गणतन्त्र सरकारको तर्फबाट नेपालस्थित राजदूत पार्क ते–यङले हस्ताक्षर गरेका हुन् । यस परियोजनामार्फत कोरियाले नेपालको क्षमता अभिवृद्धि गरी गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।
उक्त परियोजनाको कार्यान्वयन निकाय कोरिया सरकारको तर्फबाट कोरियन इन्टरनेशनल को–अपरेशन एजेन्सी रहनेछ भने नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान रहने छ । सो परियोजना सन् २०३० डिसेम्बर ३१ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
परियोजनाको मुख्य उद्देश्य नेपालकै प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम नीति र सोह्रौं योजनासँग मिल्दोजुल्दो गरी २१ औं शताब्दीले खोजेको सक्षम दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ ।
प्रतिक्रिया