वेस्टमिन्स्टर बास्केटबल टुर्नामेन्टको उपाधि हाउण्ड्स एकेडेमीलाई

मंगलबार, १० भदौ २०८२, १४ : ५०

काठमाडौँ–द वेस्टमिन्स्टर कलेज (टीडब्लुसी) ले आयोजना गरेको बास्केटबल टुर्नामेन्टको उपाधि हाउण्ड्स एकेडेमीले जितेको छ । टीडब्लुसीको “विक अफ वेलकम” कार्यक्रमअन्तर्गत कुपण्डोलस्थित कलेज परिसरमा सम्पन्न फाइनल खेलमा हाउण्ड्सले हेराल्ड कलेजलाई पराजित गर्दै उपाधि आफ्नो बनाएको हो ।

यस प्रतियोगितामा ४२ कलेज तथा एकेडेमीले सहभागिताको लागि दर्ता गरेका थिए । तर छनोट प्रक्रियापछि ३२ टिमलाई मात्र खेलमा अवसर दिइएको थियो । तीमध्ये काठमाडौँ उपत्यकाका द ब्रिटिस कलेज, हेराल्ड कलेज, ग्लोबल कलेज, सेन्ट जेभियर्स कलेज, ट्रिटन इन्टरनेशनल कलेज, काञ्जिरोवा कलेज, ट्रिनिटी कलेज, प्रसादी एकेडेमी, नासा कलेज, अर्किड इन्टरनेशनल कलेज, काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटसहित २६ वटा कलेज र हाउण्ड्स, डाउनटाउन, बलर्स, इलाइट लगायतका ६ वटा बास्केटबल एकेडेमी सहभागी भएका थिए । रोमाञ्चक फाइनलमा हाउण्ड्सले हेराल्डलाई २१–२० को सेटमा हराएको हो ।

विजयी टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ प्राप्त गर्यो । त्यस्तै उपविजेता हेराल्डले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँ हात पार्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी हाउण्ड्सकै साइमन गुरुङ घोषित भए, जसले ट्रफीसहित नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेताहरुलाई टीडब्लुसीका हेड अफ कलेज अरुण लाल जोशी र इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवास गौलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।
 

मंगलबार, १० भदौ २०८२, १४ : ५०

प्रतिक्रिया