जैशिदेवल युथ क्लवको ३२ औं वार्षिकोत्सवमा छैठौं तेक्वान्दो प्रतियोगिता सम्पन्न

आइतबार, १५ भदौ २०८२, १२ : २०

काठमाडौं- जैशिदेवल युथ क्लवले आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमा शनिबार ‘छैठौं ईन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता २०८२’ सम्पन्न गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २१ को आर्थिक सहयोगमा आयोजना गरिएको एक दिने प्रतियोगितामा विभिन्न समुहका ८८ जना खेलाडीहरूले २३ स्वर्ण, २३ रजत र ४६ काँस्यका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसी, सभापति एवं जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापति तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद ध्यान गोविन्द रन्जितलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा खेलाडीहरुलाई पदक र प्रमाण–पत्र वितरण गरिएको थियो।

WhatsApp Image 2025-08-30 at 4.27.22 PM

सो अवसरमा प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समिति सभापति  नुरज बज्राचार्य, काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, काठमाडौं महानगरपालिका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, प्रदेश विकास खेलकुद परिषदका सदस्य–सचिव दिपक लामा, काठमाडौं महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्य, वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नं. १९ का अध्यक्ष राजेश श्रेष्ठ, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नम्बर २४ का अध्यक्ष विनोद राज राजभण्डारी, वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठ, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतका अतिथिहरूको समेत सहभागिता रहेको थियो।

यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर१२ ले जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई दैनिक अभ्यासका लागि दुई लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरेको छ।

उक्त सामग्री वडा अध्यक्ष बालकृष्ण महर्जनले क्लव अध्यक्ष प्रजापतिलाई हस्तान्तरण गरेका हुन्। साथै, नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम तालिका अनुसार सम्पन्न सिनियर ग्रेडिङ्ग परीक्षामा ब्ल्याक बेल्ट पहिलो डान प्राप्त गर्न सफल पाँच खेलाडीलाई मन्त्री  के।सी।ले प्रमाणपत्र तथा बेल्ट वितरण गरेकी थिइन्।

जैशिदेवल युथ क्लवले प्रतियोगिताको माध्यमबाट नेपाली तेक्वान्दोमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको जनाएको छ। विगतका यस्तै प्रतियोगिताबाट यस क्लब अन्तर्गतको डोजाङ्गका धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालका लागि पदक जितिसकेको तथ्य स्मरणीय रहेको छ।

क्लवले आफ्नै खर्चमा खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको र यो निरन्तरता आगामी दिनमा पनि रहने अध्यक्ष प्रजापतिले बताए।

कार्यक्रममा महासचिव चन्द्र गोपाल प्रधानले अतिथिहरूलाई स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष प्रजापतिले समापनमा धन्यवाद ज्ञापन गरेका थिए।

 
आइतबार, १५ भदौ २०८२, १२ : २०

प्रतिक्रिया