सरकारको चाडवाड लक्षित योजना

सुकिला नोट वितरण तथा सुपथ मूल्य पसल सञ्चालन : सर्वसाधारणलाई सहुलियत, राज्यलाई आर्थिक भार

बुधबार, १८ भदौ २०८२, ०९ : २३

काठमाडौं– नेपालीको ठूला चाडबाड अर्थात दशैं, तिहार र छठलाई लक्षित गरि नेपाल राष्ट्र बैंकले आम नागरिकलाई सुकिला नोट पठाउने तयारी गरिरहेको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोटको साटो मौज्दातमा रहेको सुकिला नोट सटहीको लागि पठाउन लागेको हो भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि मुलुकभर १ सय ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । 

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि पठाइने सुकिला नोट वा नयाँ नोटलाई ती पर्वहरुमा अत्याधिक प्रयोग हुने अविर (रङ्ग), तेल र बत्तिले बिगारेको घटना धेरै छन् । उक्त समस्यालाई हल गर्नका लागि पुनः नयाँ नोट निकाल्नुपर्ने बाध्यता समेत श्रृजना भएको छ । नयाँ नोट छाप्दा राज्यलाई थप आर्थिक भार पर्ने गरेको छ । उपभोग कै लागि भनेर यसरी नयाँ नोट छाप्दा यसको प्रभाव स्वरुप बजारमा मूल्यबृद्धि हुने गर्दछ । उपभोक्ताले नै यसको मार खेप्नु पर्ने हुन्छ । 

दशैं, तिहार र छठलाई लक्षित गरि सञ्चालन हुने सुपथ मूल्य पसल हेर्दा सस्तो पसल भएपनि यसको सञ्चालन खर्चलाई आधार मान्दा यी अत्याधिक महङ्गो हुने गर्दछन् । सुपथ मूल्य पसलले उपभोक्तालाई दिने सामाग्रीमा बजारको तुलानामा २ देखि १० रुपैयाँसम्म बढी छुट दिएको भएपनि यसको सञ्चालन खर्च अर्बौ रुपैयाँमा पर्न आउँदछ । राज्यले यसलाई सञ्चालन गर्नका लागि अर्बौ रुपैयाँ बजेट समेत विनियोजन गरेको हुन्छ । 

पछि उपभोक्ताबाट नै कर उठाएर यसलाई समायोजन गर्ने गर्दछन् । जुन नागरिकका लागि ५० औं गुणा महङ्गो पर्न जान्छ । नागरिकको सुविधाका लागि ल्याएको नोट सटही र सुपथ मूल्य पसलले जनतालाई लाभ दिने गरेको भएपनि छपाई र सञ्चालन खर्चलाई आधार मान्दा नोक्सानी पनि उत्तिकै दिने गरेको पाइन्छ । 

नागरिकले सुकिला नोट पाउने मिति तय 

प्रत्येक वर्ष झै यो वर्ष पनि नेपाल राष्ट्र बैंकले दशैँलाई लक्षित गरि सटहीका लागि सुकिला नोट पठाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले यही भदौ २९ गते (२०८२ साल भदौ २९ गते) देखि असोज १० गते (२०८२ साल असोज १० गते) सम्म सुकिला नोट सटही गर्ने व्यवस्था मिलाएको हो । काठमाडौंको थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालय तथा प्रादेशिक कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट एकैसाथ नागरिकका लागि सुकिला नोट सटही गर्न लागेको हो । यो वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटको साटो मौज्दातमा रहेको सुकिला नोट पठाउन लागेको छ । 

‘१२ महिना नै हामीले बैंक तथा वित्तीय संस्था र नागरिकलाई सटही सुविधा दिँदै आएका छौँ । हाल हामीसँग वितरणका लागि सुकिला नोट फिट अवस्थामा नै छन् । सुकिला नोट तयारी अवस्थामा हुँदाहुँदै यसलाई वितरणमा पठाउने निर्णय गरेका हौँ ।’, नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक किरण पण्डितले आजको अर्थलाई भने, ‘हालको सुकिला नोट अपुग भएर थप माग भए नयाँ नोटमा जान पनि सक्छौँ । यसका लागि राष्ट्र बैंक तयारी अवस्थामा छ ।’ 

यो वर्ष ५, १०, २०, ५० र १०० दरका एक÷एक बण्डल सटही गर्न पाउँदछन् । प्रत्येक नागरिकले अधिकतम् १८ हजार ५ सय रुपैयाँ बराबरको सुकिला नोट सटही सुविधा गर्न पाउने भएका हुन् । तर ५ रुपैयाँको दरको नोटमा सुकिला नोट नपाइने भएको छ । यो वर्ष ५ रुपैयाँको दरको नोटमा सुकिलाको साटो नयाँ नोट नै वितरण गर्ने भएका हुन् । तथ्यांकलाई आधार मान्दा प्रत्येक वर्ष दशैंमा मात्रै ६–७ अर्ब रुपैयाँ नोट सटही हुने गर्दछ । 

सुपथ मूल्य पसल सञ्चालन हुँदै 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यही भदौ ३० गते (२०८२ साल भदौ ३० गते) देखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकभर १ सय ११ स्थानमा र साल्ट ट्रेडिङले देशभर ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । सुपथ मूल्य पसलबाट विभिन्न खाद्यान्नमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट पाउने भएका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कोशी प्रदेशको ११ स्थान, मधेस प्रदेशको ३ स्थान, बागमती प्रदेशको ५ स्थान, गण्डकी प्रदेशको ७ स्थान, लुम्बिनी प्रदेशको १५ स्थान, कर्णालीको ४२ स्थान र सुदुरपश्चिम प्रदेशको २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले मुलुकभर ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । काठमाडौँ उपत्यकामा कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर सल्लाघारी, कौशलटार काँडाघारी, इमाडोल र महाराजगञ्जमा सुपथ मूल्य पसल सञ्चालन हुन लागेको छ । साल्ट टे«डिङले ३ वटा घुम्ती पसल समेत सञ्चालन गर्ने लागेको हो ।

किन बोझ बन्दैछ नयाँ नोट छपाई र सुपथ मूल्य पसल ?

नेपाल राष्ट्र बैंकले ३–४ वर्षलाई पर्याप्त हुने नयाँ नोट एकै पटक छपाई गर्ने गर्दछ । अर्थात एक पटक छपाई भएको नयाँ नोट औसतमा ४ वर्षसम्म पर्याप्त हुन्छ । यसरी छपाई गरिएको नयाँ नोटलाई १२ महिना नै नेपाल राष्ट्र बैंकले वितरण गरिरहेको हुन्छ । बैंक तथा वित्तीय संस्थाको माध्यम र स्वयम राष्ट्र बैंकले यी नोटलाई बजारको आवश्यकता अनुसार वितरणमा पठाउने गर्दछ । नयाँ नोटको छपाई नेपालभित्र हुँदैन । यसलाई छपाई गर्न मुलुकबाहिर अर्थात युरोपमा पठाउनुपर्ने हुन्छ । नोट छपाईका लागि नेपाल राष्ट्र बैंकको जम्बो टोली नोट छपाई गर्ने मुलुकमा हप्तौंसम्म बस्ने गर्दछन् । 

यसमा टेण्डर, कमिसन देखि सेटिङ समेत जोडिएका हुन्छन् । लागत मूल्यभन्दा धेरै माथिको दरमा ती नोट छापिने गर्दछन् । अर्थात एक सय रुपैयाँको नोट छाप्न करिब १–२ रुपैयाँ पर्ने जानकारहरु बताउँदछन् भने यसलाई १५–२० रुपैयाँसम्मको लागत मूल्य लागेको तथ्यांकमा देखाइएको पाइन्छ । नयाँ नोट छपाईमा लागेको लागत विभिन्न माध्यमबाट पुनः नागरिकबाट नै उठाइन्छ । नेपालीको पर्व दशैँमा कर्मचारीको तलब वितरण गर्नका लागि थप नोटको आवश्यकता पर्दछ । यस्तो अवस्थामा पनि थप नयाँ नोटको जरुरी पर्दछ । यसरी कर्मचारीलाई वितरण गरिएको नयाँ नोटहरु उपभोगमुखी हुन्छन् । यो केबल उपभोगका लागि मात्रै प्रयोग हुन्छन् । 

‘उपभोगका लागि प्रयोग हुने नयाँ नोटले बजारमा मूल्यबृद्धि गराउँदछ । उपभोक्ताले ती नयाँ नोटलाई उपभोग्य बस्तुमा खर्च गर्दछन् । सामाग्रीको मूल्य आकाशिने गर्दछ ।’, अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले आजको अर्थलाई भने, ‘तर औद्योगिक क्षेत्रका लागि छपाई गरिएको नयाँ नोटले बजारमा मूल्यबृद्धि गराउँदैन् । यसरी छपाई गरिएको नयाँ नोटले मूल्यबृद्धि घटाउने काम गर्दछ । औद्योगिक क्षेत्रमा गएका नयाँ नोट औद्योगिक क्षेत्रको विस्तार, सामाग्रीको उत्पादनमा प्रयोग हुने गर्दछन् ।’ 

त्यसैगरि नेपाल सरकारले चाडवाडमा उपभोक्तालाई सस्तो मूल्यमा सामाग्री उपलब्ध गराउन प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । हेर्दा यी सुपथ मूल्य पसल सस्तो देखिएपनि यसको सञ्चालन खर्च अत्याधिक हुने गर्दछ । प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि अर्बौ रुपैयाँ बजेट विनियोजन गरिएको हुन्छ भने विनियोजित रकमको खर्च पनि भइरहेको हुन्छ । सुपथ मूल्य पसलले २ देखि १० रुपैयाँसम्मको छुट दिएपनि उपभोक्तालाई थप भार बोकाइरहेको हुन्छ । 

‘चाडपर्वलाई लक्षित गरि सञ्चालन गरिएका सुपथ मूल्य पसल देखिँदा सस्तो भएपनि त्यस्तो होइन । जति फाइदा ती पसलबाट पाइन्छ, राज्यलाई अन्य सामानको खरिदमा करको माध्यमबाट उपभोक्ताले भरपाई गरिरहेका हुन्छन् ।’, अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले भने, ‘ती पसलको सञ्चालन गर्न लागेको खर्च राज्यले पुनः करबाट उठाएर उपभोक्ताको काँधमा नै थुपार्ने गर्दछ । जति फाइदा ती पसलमा उपभोक्तालाई हुन्छ, त्यसको ५० गुणा अन्य सामान किन्दा कर तिर्नुपर्ने हुन्छ ।’

सुपथ मूल्य पसलले दिएका छुट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्य पसलमा जिउँदो खसी, बोका र च्याङ्गामा प्रतिकिलो १०÷१० रुपैयाँका दरले छुट प्रदान गर्ने भएको छ । चामलमा प्रतिकिलो ५ रुपैयाँको छुटको व्यवस्था गरिने भएको हो । गहुँ दाना, चिनी, दाल, चना, भटमास, केराउमा प्रतिकिलो ५÷५ रुपैयाँको छुटको व्यवस्था हुने छ । चिउरा, आटा पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने छ । जिरा, धनियाँ, चियापत्तीमा १०÷१० रुपैयाँको छुट प्रदान गरिने भएको हो । तोरी, सनफ्लावर र भटमासको तेलमा ७/७ रुपैयाँको छुट दिन लागेको हो । रैथाने खाद्यवस्तुमा १०/१० रुपैयाँको छुटको व्यवस्था गरिने लागेको छ । 

साल्ट ट्रेडिङ  कर्पोरेसन लिमिटेडले सञ्चालन गर्न लागेको सुपथ मूल्य पसलमा नुन प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने लागेको हो । तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट प्रदान गर्न लागिएको छ । 

  

        
 

 
 
 
 
बुधबार, १८ भदौ २०८२, ०९ : २३

प्रतिक्रिया