सुनको मूल्यवृद्धि

सुनको मूल्य दिनानुदिन आकाशिँदै, व्यवसाय भने ओरालो लाग्दै

किन लगातार बढ्दैछ सुनको मूल्य ?

सोमबार, २३ भदौ २०८२, १० : १७

काठमाडौं– सुनको मूल्यले एकपछि अर्को कीर्तिमानी रेकर्ड बनाउँदै आइतबार (२०८२ साल भदौ २२ गते) तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ । अप्राकृतिक तरिकाले बढीरहेको सुनको मूल्यले थप उचाई समाउँदा खरिद गर्ने ग्राहकको पहुँच बाहिर गएर सुन व्यवसायमा मन्दी देखिन थालेसँगे व्यवसायमा गिरावट आउने क्रम जारी भएको हो । दिनदिनै सुनको मूल्य बढीरहँदा ग्राहक सुन किन्न सक्ने हैसियतभन्दा बाहिर गइरहेका छन् । सुन पसलमा खरिद गर्नेभन्दा विक्री गर्ने ग्राहक बढ्न थालेका छन् । सुन व्यवसायमा ४० प्रतिशतसम्मको गिरावट आएर मन्दीको संकेत गरिरहेको छ ।

पछिल्लो समय विश्वको घटनाक्रममा लगातार अपेक्षा गरेको भन्दा फरक परिस्थिति श्रृजना भइरहँदा सुन व्यवसायमा समस्या देखिएको हो । ब्रिक्स राष्ट्रले आफ्नै मुद्रा प्रचलनमा ल्याउने तयारी गरेसँगै अमेरिकी डलरको अवमूल्यन हुने डरले विश्वका अधिकांश राष्ट्रले सुनलाई जगेडा गर्दा सुनको मूल्य एक्कासी बढ्न पुगेको हो । विभिन्न देशबिच भएका युद्धले अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक माहौल विग्रिएसँगै सुनको मूल्यमा भारी मात्रामा उतार–चढाव आइरहेको हो ।

अमेरिकी अर्थतन्त्र अस्थिर रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले ट्यारिफ लगाउँदा पनि सुनको मूल्य आकाशिएको हो । यसको प्रभाव रुवरुप नेपालमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ । तर अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक माहौलमा सुधार आए हाल बढेको सुनको मूल्य बढ्न रोकिएर पुनः घट्न सक्ने जानकारहरु बताउँदछन् ।

एक हप्तामा सुनको मूल्यमा के के भए ?

गएको आइतबार (२०८२ साल भदौ १५ गते) सुन तोलामा २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार (२०८२ साल भदौ १६ गते) सुन तोलामा १७ सयले बढेर २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । मंगलबार (२०८२ साल भदौ १७ गते) सुन प्रति तोला ६ सय रुपैयाँले बढेर २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि, बुधबार (२०८२ साल भदौ १८ गते) सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । विहिबार (२०८२ साल भदौ १९ गते) सुनको मूल्य स्थिर रहेर तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको हो । शुक्रबार (२०८२ साल भदौ २० गते) सुन तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार (२०८२ साल भदौ २२ गते) सुनले ऐतिहासिक रेकर्ड बनाउँदै तोलामा १६ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ । गएको एक हप्तामा सुन लगातार बढेर एकपछि अर्को रेकर्ड बनाएर अघि बढ्दै आएको छ । सुनको मूल्यले हाल अप्राकृतिक तरिकाले बढेर नयाँ–नयाँ रेकर्ड बनाउन सफल भइरहेको छ ।

सुनको मूल्य किन यसरी बढिरहेको छ ?

ब्राजिल, रसिया, भारत, चीन, साउथ अफ्रिका, इजिप्ट, इथोपिया, इन्डोनेशिया, इरान र युनाइटेड अरब इमिरेट्स सम्मेलित ब्रिक्स राष्ट्रहरुले आफ्नै मुद्रा प्रचलनमा ल्याउने तयारी गरिरहेको छ । ब्रिक्स राष्ट्रले आफ्नै मुद्रा प्रचलनमा ल्याए अमेरिकी डलरको अवमूल्यन हुने त्रास बढ्दो छ । ब्रिक्सको नयाँ मुद्रा आउने आंकलन र अमेरिकी डलरप्रति विश्वको घट्दो विश्वासका कारण विश्वको ध्यान अर्को विकल्पमा केन्द्रित भइरहेको छ । हाल विश्वको अधिकांश राष्ट्रको ध्यान सुनतर्फ आकर्षित भइरहेका छन् ।

सुनलाई सुरक्षित लगानी मानेसँगै विश्वका अधिकांश केन्द्रिय बैंकले सुनको जगेडा गर्न थालेका छन् । विश्वमा सिमित मात्रामा रहेको सुनलाई जगेडा गर्न थालेसँगै विश्वभरिबाट यसको उच्च माग हुन थालेको हो । माग बढ्न थालेसँगै यसको मूल्यमा अकल्पनीय बृद्धि देखिन थालेको छ । अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि सुनको मूल्यले क्रिर्तिमानी रेकर्ड बनाउन सफल भएको हो । प्रत्येक दिनको बढोत्तरीले सुनको मूल्य २ लाख रुपैयाँमाथि पुगेर कारोबार हुन थालेको छ । सुन आमनागरिकको पहुँचबाहिर पुगेसँगै खरिद–विक्रीमा जान नसक्ने अवस्थामा पुगिसकेका छन् ।

‘विवाह, ब्रतबन्ध लगायत पर्वमा नेपालीले पुरानो सुन चलाउन थालेका छन् । नयाँ सुन खरिद गर्न ग्राहक त्यति इच्छुक देखिँदैनन् । गहनापसलमा प्राय खरिदकर्ता आउन कम भएसक्यो ।’, श्री रिद्धि सिद्धि जोयलरसको सञ्चालक (व्यवसायी) नरेन्द्र गुप्ताले आजको अर्थलाई भने, ‘ग्राहक पुरानो सुनलाई नै गालेर पवित्र पर्वमा प्रयोग गर्न थालेका छन् । यसले हाम्रो व्यवसायमा प्रभाव पार्न थालेको छ । हाल सुनको खरिद–विक्रीमा ४० प्रतिशतसम्मको गिरावट आइसक्यो ।’

विश्वमा अहिले विभिन्न देशमा युद्ध चर्किएको छ । रसिया–युक्रेनको युद्ध, मध्य पूर्वको इजरायल–प्यालेस्टाइन युद्ध (गाजा युद्ध), मध्य पूर्वको सिरियाको गृहयुद्ध, यमनी गृहयुद्ध, अफगानिस्थानको द्वन्द र लिवियाको संकटले आर्थिक तथा राजनीतिक समस्या उत्पन्न गरिरहेको छ । यसले विश्व बजारमा तेलको आपूर्ति श्रृंखलामा प्रभाव पारेसँगै अमेरिकी डलरमा समेत असर देखाइरहेको छ । सुन, तेल र अमेरिकी डलरसँग जोडिएको अर्थतन्त्रका कारण हाल सुनको मूल्यमा अप्राकृतिक बृद्धि देखिन थालेको हो ।

अहिले संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र स्थिर देखिएको छैन । अस्थिर अमेरिकी अर्थतन्त्रका कारण २.९ प्रतिशतले त्यहाँ मूल्यबृद्धि भएको छ भने उनीहरुको व्याजदर ०.२९ ले कम भइसक्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले विभिन्न देशलाई थप ट्यारिफ लगाउँदा अवस्था अझै विग्रिन पुगेको छ । यसले विश्वमा अमेरिकी डलरप्रति विश्वास घटाएसँगे अवमूल्यन हुने थालेको छ । अमेरिकी डलरको विकल्पमा सुनको जगेडामा विश्व लाग्न थालेकाले हाल सुनको मूल्यले चरम उचाई समातेको हो । नेपाली बजारमा पनि सुनको मूल्यमा उच्च बृद्धि देखिन थालेको हो ।

सुनलाई लक्षित गर्र्दै चीनले पनि आफ्नो नयाँ नीति ल्याएको छ । नयाँ नीति अनुसार चीनका बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाले जस्तै १ प्रतिशत लगानी सुनमा गर्न पाउने भएका छन् । यसले ३–४ हजार विलियन डलर बराबर सुनको माग अन्तर्राष्ट्रिय बजारमा बढाएको छ । यसरी बढेको उच्च मागले नयाँ रेकर्ड बन्ने गरि सुनको मूल्य बढेको हो । नेपाली बजारमा पनि नयाँ–नयाँ रेकर्ड बन्ने गरि सुनको मूल्य बढीरहेको छ । हाल सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा माथि गइरहेको छ । स्वदेशमा भएका जागिरे नागरिकले सुन किन्न नसक्ने अवस्थामा सुनको मूल्य पुगेको छ ।

‘नेपालभित्रका नागरिकले सुन किन्न सक्ने भाउ कायम भएको छैन । एनआरएनए (गैरआवसीय नेपाली) ले मात्र किन्न सक्ने अवस्थामा छ । यसले आन्तरिक डिमान्ड (माग) खासै बढाएको छैन । ग्राहकको सुन खरिदमा पनि खासै रुचि छैन ।’, नेपाल सुन–चाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले भने, ‘विलासिता करले अझै सुनको भाउमा प्रभाव पारेको छ । कर थप नगरेर भन्सार छुट दिए सुन व्यवसायमा थोरै भएपनि राहत मिल्ने थियो । सुन व्यवसाय मन्दीमा जानबाट रोकिन सक्थ्यो ।’

युरोपयिन युनियन मुलुकका राष्ट्रहरुका लागि पनि अमेरिकी सरकार खासै सकारात्मक हुन सकेन । उनीहरुका केन्द्रिय बैंकले पनि अमेरिकी डलरको साटो सुनलाई सुरक्षित मान्दै यसमा लगानी बढाउन थाले । चीन, युरोपेली मुलुक लगायत विश्वका अन्य मुलुक सुनप्रति आकर्षित बन्दै यसको जगेडामा लाग्दा अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको मूल्य एक्कासी बढ्न थालेको हो । सुनको मूल्यले थप नयाँ–नयाँ रेकर्ड बनाउन सफल बनेको हो । हाल सुनको परल मूल्य (सुनको माइनिङ्ग गर्दा अथवा फ्याट्रिमा रहँदाको मूल्य) १५–१७ सय अमेरिकी डलर प्रति औंस छ । तर विक्री मूल्य ३५ सय अमेरिकी डलर प्रति औंस छ । परल मूल्यको तुलानामा विक्री मूल्य दोब्बर छ ।

‘अहिले मार्जिनको दोब्बर मूल्यमा सुन कारोबार भइरहेको छ । यो मूल्य सधै यथावत रहन सक्दैन ।’, नेपाल सुन–चाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले भने, ‘विश्वका मुख्य युद्ध रोकिएर अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक अवस्थामा सुधार आए सुनको मूल्यमा कमी आउन सक्दछ । मार्जिनको दोब्बर मूल्यमा कारोबार भइरहेको सुनको मूल्य घटेर तोलाको १ लाख ६० हजार रुपैयाँसम्ममा आउन सक्दछ ।’                                                       

 

 
 
 
 
सोमबार, २३ भदौ २०८२, १० : १७

प्रतिक्रिया