जेनजी आन्दोलन : आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयमा क्षति

शुक्रबार, २७ भदौ २०८२, १५ : १६

काठमाडौं– जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जलेर नष्ट भएका छन् । आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएका हुन् । क्षति हुँदाहुँदै भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको छ ।

आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गरिएको छैन । अनलाइनबाट राजस्व संकलन भइरहेको छ । पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेका छन् ।

कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ । भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको हो । विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति भएको छ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा काठमाडौंको आन्तरिक राजस्व कार्यालयहरू भने सुरक्षित रहेका छन् ।

भन्सारको अनलाइन प्रणाली आशिकुडा र आन्तरिक राजस्वको प्रणाली आईएसपी सुरक्षित रहेकाले कर संकलन सुचारु गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गत मुख्य भवन बाहिर रहेको बजेट महाशाखाको एउटा सानो भवन पूर्णरूपमा जलेको छ । मन्त्रालयको मूलभवन आगलागीबाट जोगिए पनि १५ वटा जति गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएका छन् ।
 

शुक्रबार, २७ भदौ २०८२, १५ : १६

प्रतिक्रिया