बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ- पूर्वी रुकुम खण्ड अवरुद्ध

सोमबार, ३० भदौ २०८२, १५ : २९

काठमाडौं- भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन् । 

बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधन कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ । लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको उनले बताए। 

निरन्तर वर्षाका कारण लोकमार्गका विभिन्न ठाउँमा पहिरो जाने र रूख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेल बताउँछन् । वर्षा हुँदा बित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने पौडेलले जानकारी दिए । 

 
सोमबार, ३० भदौ २०८२, १५ : २९

प्रतिक्रिया