चाडवाडमा महंगी

दशैंमा दुबै उत्तरी नाका बन्द : चिनियाँ मालबस्तु अभाव नहुने, मूल्यबृद्धि भने स्थिर

विहीबार, ०२ असोज २०८२, १० : ०३

काठमाडौं– नेपाललाई चीनसँग जोड्ने उत्तरी नाका लामो समयदेखि बन्द रहेपनि आगामी दशैं–तिहारमा बजारमा चिनीयाँ सामानको अभाव नहुने भएको छ । सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बाढी र पहिरोको कारणले लामो समयदेखि बन्द रहेपनि नेपाली बजारमा चिनीयाँ सामान अभाव नहुने देखिएको छ भने उच्च मूल्यबृद्धि नहुने भएको हो । 

नेपालीको ठुलो चाडबाड दशैं–तिहार र छठमा लत्ताकपडादेखि अन्य सामाग्रीको अत्याधिक खपत हुने गर्दछ । नेपालीले प्रयोग गर्ने अधिकांश सामान चीन र भारतबाट आउने गर्दछ । बजारलाई चाहिने चिनीयाँ सामान नेपालको उत्तरी नाका अर्थात सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाकाबाट भित्रिने गर्दछ । तर हाल यी दुई नाका लामो समयदेखि बाढी र पहिरोको कारणले बन्द भएसँगै सुचारु हुन सकेको छैन । यी दुई नाकाबाट राम्रोसँग मालबस्तु आउन सकिरहेको छैन । 

रसुवास्थित रसुवागढी नाका पूर्ण रुपमा बन्द छ भने सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट थोरै मात्रामा मालबस्तु भित्रिरहेको छ । बजारलाई चाहिने दशैं–तिहार र छठ लक्षित मालबस्तु स्टक (मौज्दात) मा रहेकाले हाललाई पर्याप्त नै छ । यी मालबस्तुले आगामी दशैं–तिहारलाई धान्ने भएकाले अभाव नहुने देखिन्छ । 

तर हालै भएको ‘जेनजी’ प्रदर्शनका कारण नेपालका विभिन्न भागमा ती मालबस्तु पुर्‍याउने काम रोकिएकाले ती स्थानमा अभाव भएपनि राजधानी लगायत मुख्य स्थानमा अभाव नहुने व्यवसायीको भनाई छ । स्टक (मौज्दात) मा भएको मालबस्तु नै बजारले खपत गर्ने भएकाले थप मूल्यबृद्धि नहुने भएको छ । तर नयाँ मालबस्तु बजारमा आए लामो समयदेखि नाकामा रोकिएका कन्टेनरको ढुवानी खर्च र कर्मचारीमा भएको थप खर्चले सामाग्रीको थोरै मूल्य बढाएपनि बजारमा उच्च मूल्यबृद्धि नहुने व्यापारीको दाबी छ । 

तातोपानी नाका र रसुवागढी नाकाको अवस्था

चीनसँग जोडिने उत्तरी नाका अर्थात सिन्धुपाल्चोकस्थित तातोपानी नाका २०८२ साल भदौ ९ गतेदेखि पूर्ण रुपमा अवरुद्ध छ । भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा ५–६ मिटर सडकबाट २ फिट गहिरो भाँसिदा बाटो अबरुद्ध भएको हो । सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट आएको चिनीयाँ मालबस्तु यही स्थानबाट भएर जानुपर्ने भएकाले हाल कन्टेनर राम्रोसँग आवात–जावत गर्न सकिरहेको छैनन् । अरनिको राजमार्गको ईकु पहिरोले आगमनमा अवरोध पुर्‍याएसँगै राजधानी लगायत अन्य स्थानमा चिनियाँ मालबस्तु पुग्न सकिरहेको छैन । 

‘पहिरो गएको स्थानको अवरोध ठुलो होइन । राम्रोसँग काम गर्दा पहिरो पन्छाउने काम २–३ दिनमा सकिन्छ । तर स्थानीयको विरोध र उनीहरुसँग सहमति जुट्न नसक्दा हालसम्म ईकु पहिरो पन्छ्याउन मुश्किल परेको हो ।’, सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रमेश बहादुर शाहले आजको अर्थलाई भने, ‘ईकु पहिरो गएको स्थानमा माथिबाट काम गर्दा स्थानीयको घर जोखिममा पर्ने भन्दै काम गर्न दिएको छैन । उनीहरुले त्यो स्थानमा तलबाट काम गर्न आग्रह गरिरहेका छन् । यो विषयमा स्थानीयको सहमति नजुट्दा बाटो सुचारु नभएको हो ।’ 

अरनिको राजमार्गको कोदारीमा अवरोध आउँदा चीनबाट नेपालतिर आउने ३०–४० कन्टेनर फसेर बसेका छन् । त्यसैगरि चीनपट्टी ७००–८०० कन्टेनर फसेर बसिरहेका हुन् । सोझै कन्टेनर पास नहुने भएकाले तत्काल कुहिने फलफुल, लसुन जस्ता खाद्य सामाग्री भरिया लगाएर बोकाएर ल्याइरहेको छ । पहिले जस्तो ठुलो मात्रामा सहज तरिकाले ल्याएको जस्तो नभए पनि थोरै मात्रामा मालवस्तु आइरहेका छन् । कन्टेनरको आवत–जावतमा सहजता ल्याउन र पहिरो खुलाउनका लागि व्यवसायी र सडक विभागले हाल स्थानीयको सहमति जुटाउने काम गरिहेका छन् । तत्काल बाटो खुलाउनको लागि ईकुको पहिरो पन्छाउने काम माथिबाट गर्दा उपयुक्त देखिएपनि दीर्घकालिनका लागि भने तलबाट गर्दा नै उपयुक्त हुन्छ । 

नेपाललाई चीनसँग जोड्ने दोस्रो नाका अर्थात रसुवास्थित रसुवागढी नाका २०८२ साल असार २४ गतेदेखि अवरुद्ध छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका बडा नम्बर २ स्थित रसुवागढीमा आएको बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भएकाले सवारी–साधन आवत–जावत बन्द भएको हो । रसुवागढी नाका करिब–करिब ठप्प नै छ । यो नाकाबाट चिनियाँ मालबस्तु भित्रिने कार्य हाल बन्द छ । नेपाली बजारमा रसुवागढी नाकाबाट दशैं–तिहारका लागि चिनीयाँ मालबस्तु आउने सम्भावना अत्यन्त कम छ । 

दशैं–तिहारमा मालबस्तु र मूल्यबृद्धिको अवस्था

नेपललाई चीनसँग जोड्ने दुई उत्तरी नाका अर्थात सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका पूर्ण रुपमा सुचारु हुन सकिरहेको छैन । रसुवास्थित रसुवागढी नाका प्राय ठप्प नै छ । रसुवागढी नाकाबाट चिनीयाँ मालबस्तु आउने सम्भावना करिब–करिब शून्य नै छ । दशैंका लागि चाहिने मालबस्तु रसुवागढी नाकाले यो पटक उपलब्ध नगराउने भएको हो । सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट आंशिक रुपमा मालबस्तु आइरहेका छन् । तर हाललाई यो पर्याप्त छैन । नाकाको समस्याले दशैं–तिहार र छठमा बजारमा चिनीयाँ मालबस्तु अभाव हुने त्रास नागरिकमा उच्च छ । बजारमा चिनीयाँ मालबस्तुको मूल्यबृद्धि हुने त्रास पनि उत्तिकै छ । 

तर यस पटकको दशैं–तिहारका लागि चिनीयाँ मालबस्तु स्टक (मौज्दात) मा रहेकाले यो समस्या नागरिकले झेल्नु नपर्ने देखिन्छ । दशैं लक्षित मालबस्तु पहिले नै ल्याएर राखेकाले प्रशस्त मात्रामा छ । हाल बजारमा चिनीयाँ मालबस्तु अभावको सम्भावना टरेको छ । राजधानी लगायत मुख्य स्थानमा मालबस्तु अभाव नहुने पक्का छ । २०८२ साल भदौ २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा भएको ‘जेनजी’ प्रदर्शनले यातायात लगायत अन्य सबै सेवा ठप्प बनायो । ढुवानी सेवा ठप्प बनाएसँगै राजधानी लगायत मुलुकका अन्य स्थानमा मालबस्तु पुग्न पाएको छैन । ‘जेनजी’ प्रदर्शनका कारण मुलुकको केहि दुर्गम स्थानमा दशैंका लागि चिनीयाँ मालबस्तु समयमा नपुग्दा ती स्थानमा अभाव हुन सक्दछ । 

‘दशैं लक्षित मालबस्तु ढुवानी गर्ने समयमा ‘जेनजी’ आन्दोलन भयो । यही समय (२०८२ भदौ २३ देखि २७ गते) मा राजधानी लगायत अन्य स्थानमा मालबस्तु  पुर्‍याउने समय सुरु हुन्छ । दशैं आउनु भन्दा १५–२० दिन अघि व्यापारीले आफुसँग भएको मालबस्तु राजधानी लगायत अन्य स्थानमा पुर्‍याउने गर्दछन् ।’, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए, ‘तर ‘जेनजी’ प्रदर्शनले मालबस्तु ढुवानी गर्ने समय ४ दिन ढिला गरिदिएको छ । मुलुकका विभिन्न स्थानमा दशैं लक्षित मालबस्तु ढुवानीका लागि १०–११ दिन मात्रै बाँकी राख्यो । ‘जेनजी’ प्रदर्शनका कारण भएको ढिलाईले तोकिएको स्थानमा मालबस्तु पुग्न नसक्दा ती स्थानमा दशैंका लागि मालबस्तु अभाव हुनसक्दछ । तर अन्य स्थानमा चिनीयाँ मालबस्तु अभाव हुँदैन् ।’ 

तातोपानी नाका र रसुवागढी नाकामा समस्या देखिएपछि भारतको कोलकातास्थित कोलकाता बन्दरगाहबाट दशैंका लागि मालबस्तु ल्याउने काम भइरहेको छ । ४००–५०० कन्टेनर डाइभर्ट गरि भारतको कोलकातास्थित कोलकाता बन्दरगाह हुँदै मुस्ताङको कोरला नाकाबाट मालबस्तु नेपाल ल्याउने काम भइरहेको छ । यसले पनि दशैंका लागि बजारमा मालबस्तु अभाव हुन नदिने बुझिन्छ । पहिले नै स्टक (मौज्दात) मा भएको मालबस्तुले बजारमा अभाव हुन नदिने भएको हो । 

‘हामीसँग स्टकमा धेरै मालबस्तु छ । नयाँ सामान थोरै छ । हामीले भएको स्टकलाई सल्टाउने काम गर्दैछौं । यसले अभाव हुन दिदैन् । बजारमा मालबस्तु प्रशस्त भएपछि थप मूल्यबृद्धि पनि हुँदैन् ।’, नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले बताए, ‘स्वदेशी (नेपाली) लत्ताकपडाको उत्पादन धेरै बढेको छ । यसले बजारमा प्रशस्त सामान पुर्‍याउने भएकाले नाकाको समस्याले फरक पार्दैन् । दशैंमा मालबस्तुको अभाव र मूल्यबृद्धि हुँदैन् ।’ 

नेपालीको प्रति व्यक्ति आय बढिरहेको समयमा भएको ‘जेनजी’ प्रदर्शनीले धक्का दिएको छ । मालबस्तु ढुवानी र विक्री गर्ने समयमा भएको प्रदर्शनीले व्यवसायमा पनि प्रभाव पारेको छ । २०८२ साल भदौ २३ गते यता राम्रोसँग व्यापार भएको छैन । व्यापारले उचाई समाउने समयमा आन्दोलन हुँदा यस पटक दशैं लक्षित व्यापारमा प्रभाव पार्ने त्रास बढ्दो छ । दशैं–तिहार र छठ नजिकिएसँगै १–३ महिना नाका बन्द हुँदा व्यवसायी थप मर्कामा परेका हुन् । 

सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा व्यवसायीको समस्या अझै पनि उस्तै छ । उनीहरुले हालसम्म प्रवेश पास पाउन सकेका छैनन् । त्यहीको स्थानीय समुदायसँग मात्र प्रवेश पास उपलब्ध छ । त्यहाँ उनीहरुको सिन्डीकेट रहेकाले अन्य व्यवसायीले सुविधा पाउन सकेका छैनन् । प्रवेश पासको अभावमा वास्तविक व्यवसायी तातोपानी नाकामा प्रवेश गर्न पाएका छैनन् । यसले व्यवसायीलाई समस्यामा पारेको छ । बजेटबाट प्रवेश पासको व्यवस्थापन (उपलब्धता) गर्ने भनिएता पनि तातोपानी नाकामा व्यवसायीले हालसम्म पास पाउन सकेको छैनन् । हालसम्म प्रवेश पासमा स्थानीयको सिन्डीकेट कायमै छ ।                          
                                             

 
 
 
विहीबार, ०२ असोज २०८२, १० : ०३

प्रतिक्रिया