काठमाडौं- काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका विकासको गतिमा अघि बढिरहेको छ, जसमा युवा शक्ति सक्रिय रुपमा लागिपरेका छन्। यस्तै एउटा उदाहरण बनेको छ – बल्देव उकालोको ढलान कार्य, जुन युवाहरूको जोश, जाँगर, समर्पण र सामूहिक प्रयासको उत्कृष्ट परिणाम हो।
हालैको अविरल वर्षाले खानीखोलाको धेरैजसो ग्रामीण सडकहरू क्षेतविक्षेत भएका थिए। त्यसको कारण गाउँबासीलाई अत्यधिक समस्या भोग्नु परेको थियो। यातायात, स्वास्थ्य सेवा, खेतीपाती लगायत दैनिक जीवन प्रभावित भएको अवस्थामा, स्थानीय युवाहरूले यस अवस्थालाई मौन भएर हेर्न सकेनन्।
युवाहरुको नेतृत्वमा एकजुट भएका स्थानीय युवाहरूमा दर्जनौं बाइक चालक, विद्यार्थी, रोजगारीरत युवाहरू लगायत समाजसेवीहरू थिए । सबैले हातेमालो गर्दै बल्देव उकालोको ढलान कार्य सम्पन्न गरेका छन्। जुन ठाउँबाट काभ्रे जिल्लाको खानीखोला गाउँपालिका र मकवानपुर जिल्लाको बागमती गाउँपालिका जोडने बाइकको एक बैकल्पिक सडक रहेको हो ।
युवाहरूले न त कुनै सरकारी बजेट पर्खिए, न कुनै संस्थागत सहयोगमा मात्र भर परे। बरु आफ्नै श्रम, सहयोग र सशक्त नेतृत्वमार्फत गाउँको लागि केही गर्ने जाँगरले प्रेरित भई यो कार्य सम्पन्न गरिएको हो।
यो कार्यको लागि धेरैले आआफ्नो अनुसार सहयोग गरेका छन्। बाइक चालकहरूका बीचमा भएको आपसी सहमतिअनुसार कम्तीमा रु १,००० संकलन गरिने निर्णय भएको छ। हालसम्म धेरैले सोभन्दा बढी रकम सहयोग गरिसकेका छन्, बाँकीलाई पनि हार्दिक अपिल गरिएको छ। आयोजक टोलीले सबै खर्चको विवरण पारदर्शी ढंगले सार्वजनिक गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ।
यदि संकलन गरिएको रकम ढलान खर्चभन्दा बढी भयो भने, बाँकी रकमको उपयोगबारे सामूहिक छलफलमार्फत निष्कर्ष निकालिनेछ। यस्तो निर्णयले भविष्यमा पनि पारदर्शिता, विश्वास र सहभागितालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
खानीखोलाका युवाहरूले देखाएको उदाहरण अरू गाउँपालिकाहरूका लागि पनि प्रेरणादायक छ। विकास भनेको सरकारी पहल मात्र होइन, स्थानीय स्तरमै युवाहरूको सक्रियता, श्रम र आत्मबलले पनि सम्भव छ भन्ने कुरा बल्देव उकालो ढलान कार्यले प्रमाणित गरिदिएको छ।
यो कार्यले समाजसेवा, आपसी सहयोग, पारदर्शिता र स्थानीय नेतृत्वको महत्व झल्काएको छ। खानीखोला गाउँपालिकाको आगामी विकास योजनामा पनि यस्ता युवाशक्तिको भूमिकालाई अझ व्यापक र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्व र आपसी सद्भावका माध्यमबाट सम्पन्न भएको बल्देव उकालो ढलान परियोजना समुदायको सामूहिक प्रयासको प्रतिफल हो। यस्ता कार्यले स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने मात्र नभई सहकार्यको भावना पनि झन् बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया