काठमाडौं- नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२ औं वार्षिकोत्सव आज नक्सालस्थित नागपोखरीमा रहेको एनएमए सचिवालयमा विविध कार्यक्रमसहित मनाइएको छ।
कार्यक्रममा तीन जना पर्वतारोही र दुई जना पत्रकारलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो। पर्यटन विभागका नवनियुक्त महानिर्देशक रामकृष्ण लामिछाने प्रमुख अतिथि थिए। उनले एनएमए अध्यक्ष फुर गेल्जे शेर्पासँगै नेपाल र एनएमएको झण्डा फहराए र केक काटेर कार्यक्रमको उद्घाटन गरे।
१४ वटा आठ हजार मिटरभन्दा माथिका शिखरहरू डाउन फेदर बिना आरोहण गर्ने इतिहास रच्ने मिङ्मा तेन्जी शेर्पालाई ‘कुमार खड्ग विक्रम शाह एडभेन्चर अवार्ड’ प्रदान गरिएको थियो। विश्वको दोस्रो अग्लो शिखर के–टू छप्काउनका लागि विश्व कीर्तिमान बनाएका सिद्धि बहादुर तामाङले ‘डा.हर्क गुरुङ पर्वतारोहण पुरस्कार’ पाए।
नेपाल प्रहरीकी सई कुन्जाङ छोपाल शेर्पा, जसले सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकारीको कीर्तिमान बनाइन्, ‘पासाङ ल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार’ बाट सम्मानित भइन्। यी सबै पुरस्कार विजेताहरूलाई सुनजडित पदक प्रदान गरिएको थियो।
यस्तै, पत्रकार सुरज कुनवर र पवन फुयाललाई ‘दावा नोर्बु माउण्टेन जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ। दुबै जनाले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। एनएमएकी लेखा सहायक प्रमिला सिग्देललाई आव २०८१/८२ का उत्कृष्ट कर्मचारीको रूपमा १० हजार रुपैयाँसहित सम्मान गरिएको छ।
एनएमएले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा कीर्तिमानी आरोही, हिमाल पर्यटनसँग सम्बन्धित संस्था, पत्रकार र आफ्ना कर्मचारीलाई सम्मान गर्दै आएको छ।
५२औँ एनएमए दिवसमा सरकारी अधिकारी, संघका सदस्य, पूर्व कार्यसमिति सदस्य, वर्तमान कार्यसमिति तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिक्रिया