विराटनगर किंग्सद्वारा आगामी सिजनको एनपीएलका लागि नयाँ जर्सी सार्वजनिक

आइतबार, २३ कार्तिक २०८२, १३ : ३२

काठमाडौं- विराटनगर किंग्सले एनपीएलको नयाँ सिजन नजिकिएसँगै आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। 

किंग्सले कोशी प्रदेशको गौरव र समुदायको भावना झल्काउनेगरी विराटनगरको अविचलित भावनाको अर्थ, उद्देश्य र पहिचान समाहित जर्सी सार्वजनिक गरेको हो । 

डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन्। यी सात रेखाहरू विशाल सप्तकोशी नदी बन्न एकसाथ मिसिने सातवटा शाखा नदीहरूका प्रतीक हुन्। यी रेखाहरूले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन्। प्रत्येक नदीको आआफ्नै ऊर्जा हुन्छ, तर सबै नदीहरू एकसाथ बग्दा तिनीहरू एक अजेय शक्तिमा रूपान्तरित हुन्छन्। बिराटनगर किंग्सको खेल पनि मैदानमा ठीक त्यस्तै हुन्छ। सात नदी। एउटै लय। एकै धड्कन।

त्रिकोणीय प्याटर्न अर्थात् साहसका पहाडहरूले धैर्य, दृढता र लगनशीलताको कथा भन्छन्। सफलता यी पहाडहरूजस्तै हुन्छ जुन सिधा रेखामा आउँदैन। यात्रामा उकाली ओराली हुन्छन्, चुनौती र जितहरू हुन्छन्। तर किंग्स हरेक खेलसँगै अगाडि बढ्छ, उचाइ चढ्दै जान्छ, अझ मजबुत बन्दै जान्छ। यी प्याटर्नहरूले सम्झाउँछन् कि शक्ति निरन्तरको प्रयासबाट आउँछ र अन्ततः जीत उनीहरुकै हुन्छ, जो कहिल्यै रोकिँदैनन्।

जर्सीको काँधमा काँधको साहस अर्थात् एपाउलेट रहेको छ, जसले नेतृत्व र गर्वको संकेत गर्दछ। यो मौन रहन्छ र आदेश होइन, प्रेरणा दिन्छ। यो जर्सी लगाउने प्रत्येक खेलाडीले आफ्नो शहरको सपना र नेतृत्वको जिम्मेवारी बोकेको हुन्छ। किंग्स केवल खेल्दैनन्, चाहे जस्तोसुकै चुनौती अओस्, उनीहरू बेपर्वाह भएर साहस, दृढता र विश्वासको प्रतिनिधित्व गर्छन्।

यी सबै प्रतीकहरूले मिलेर बनाउँछन्, ‘द जर्सीः द क्राउन वी अर्न।’ यो केवल युनिफर्म होइन, यो पहिचान, एकता र भावनाको प्रतीक हो। यसको प्रत्येक धागोमा उत्साह र गर्वको कथा बुनिएको छ। खेलाडीहरूका लागि यो कवचजस्तै हो भने समर्थकहरूको लागि यो आशाको ध्वजा हो। जब किंग्स यो जर्सी लगाएर मैदानमा उत्रन्छन्, उनीहरू आफ्नो नाम मात्र होइन, बिराटनगरको मुटु बोकेर उत्रिन्छन्, उठ्न अनि शासन गर्न तयार भएर।

विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र समुदाय तथा समर्थकहरूसँग जोडिएर कोशी प्रदेशलाई गौरव दिलाउनु हो।

आइतबार, २३ कार्तिक २०८२, १३ : ३२

प्रतिक्रिया