सहकारी संस्थाको साधारणसभामा कडाइ : ३० दिनअघि नै प्रस्तावसहित सूचना प्रकाशित गर्नुपर्ने

सोमबार, २४ कार्तिक २०८२, १३ : ४५

काठमाडौं- अब सहकारी संघसंस्थाहरुले साधारणसभाको सूचना ३० दिनअघि नै प्रस्तावहरुसहित प्रकाशन गर्नुपर्ने भएको छ ।

सहकारी विभागले ७ बुँदे निर्देशन दिँदै सहकारी संस्थाको साधारणसभामा कडाइ गरेको हो। 

विभागले सोमबार निर्देशन जारी गर्दैै सहकारी सिद्धान्तअनुरुप सहकारी संघसंस्थाको साधारणसभाको बैठक आयोजना, कार्य प्रणाली र निर्णय प्रमाणीकरणका विषयहरु निर्धारण गर्न वञ्छनीय भएकोले यो निर्देशन जारी गरिएको विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार अब दुई हजार वा सोभन्दा बढी सदस्य भएको संस्थाले साधारणसभा गर्दा स्थानीय तह वा वडाहरुमा सञ्चालक सदस्य पठाएर साधारणसभा गर्न र त्यस्तो साधारणसभाको निर्णय प्रमाणित गर्न लगाउनुपर्नेछ।

त्यस्तै दुई हजार वा सोभन्दा बढी सदस्य भएका सहकारी संस्थाले साधारणसभा भौगोलिक अवस्थितिका कारण एकै ठाउँमा भेला हुन नसक्ने अवस्थामा सदस्यहरुलाई पायक पर्ने स्थानमा बढीभन्दा बढी सहभागिताका लागि बढीमा ७ वटासम्म इकाइ गठन गरी सभा सम्पन्न गर्न पाउने निर्देशनमा उल्लेख छ।

सहकारी संस्थाहरुले सहकारी ऐन, २०७४ बमोजिम पुस मसान्तभित्र साधारणसभा अनिवार्य रुपमा सम्पन्न गर्नुपर्नेछ। साधारणसभा सकिएको १५ दिनभित्र सबै विवरणहरु अनिवार्य रुपमा कोपोमिस प्रणालीबाट विभागमा अद्यावधि गर्नुपर्नेछ।

सहकारी संस्थाहरूले ऐन, नियमावली र कार्यविधिअनुसार साधारण सभा सम्पन्न नगरेका खण्डमा कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ।

 
सोमबार, २४ कार्तिक २०८२, १३ : ४५

प्रतिक्रिया