जस्मिन पेन्ट्स र क्यानबीचको साझेदारी निरन्तर, प्रमुख मैदानहरूमा प्रिमियम कोटिङ

सोमबार, ०१ मंसिर २०८२, १७ : २२

काठमाडौं- जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई जारी राखेको छ। 

यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको छ।

यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ। यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा जस्मिन पेन्ट्स गर्व गर्दछ। यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीहरूको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको छ।

यो साझेदारी केवल स्पोन्सरशिप होइन। जस्मिन पेन्ट्सले यसलाई राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा लिएको छ। राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने तथा उदयीमान खेलाडीहरूले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ।

३० वर्षभन्दा बढीको भरोसा र अनुभवसहितको जस्मिन पेन्ट्स नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिन प्रतिबद्ध छ। नयाँ सिजन सुरु हुँदै गर्दा जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन बनाउने र यसको यात्रामा थप उत्साह र रौनक बढाउने महत्वपूर्ण साझेदारका रूपमा आफ्नो सहयोग निरन्तर जारी राख्ने अपेक्षा राखेको छ।
 
नेपाललाई पेन्ट तथा कलर उत्पादनमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित सन् १९९४ मा स्थापना भएको जस्मिन पेन्ट्स लिमिटेड पूर्णतया स्वदेशी नेपाली ब्रान्ड हो।

गुणस्तरका लागि प्रतिबद्ध जस्मिन पेन्ट्सले प्रत्येक उत्पादनलाई कडा प्रयोगशाला परीक्षणपछि मात्र बजारमा ल्याउने गर्छ, र कलर–च्वाइस सफ्टवेयर जस्ता अत्याधुनिक प्रविधि तथा ग्राहकमैत्री इनोभेसनहरूका कारण यो कम्पनी नेपालको पेन्ट्स उद्योगको एक विश्वसनीय र अग्रणी ब्राण्डका रूपमा स्थापित छ।

 
सोमबार, ०१ मंसिर २०८२, १७ : २२

प्रतिक्रिया