एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

शुक्रबार, २६ मंसिर २०८२, १४ : ३०

काठमाडौं– नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन् । 

बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए । फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अंकले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अंकले हार बेहोरेका थिए । 

न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गरेका थिए । उनले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अंकले जितेका थिए । न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए । टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस संघका अध्यक्ष गणेश केसीले जानकारी दिए । 

एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ । प्रतियोगिता यही मंसिर २८ गतेसम्म चल्नेछ 
 

 
शुक्रबार, २६ मंसिर २०८२, १४ : ३०

प्रतिक्रिया