काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यले ललितपुरमा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ सुरु भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजित २ दिने सम्मेलनको उद्घाटन शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे।
सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले प्रविधिको उच्चतम प्रयोगमार्फत निर्वाचन प्रणालीलाई आधुनिक बनाउनुपर्ने बताए। सो क्रममा उनले आगामी निर्वाचनबारे धारणा राखे।
उनले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेमा आगामी निर्वाचनमा कम लागतमै ‘इ-भोटिङ को व्यवस्था गर्न सकिने बताए। 'सूचना प्रविधिको यो युगमा पनि अर्बौँ रुपैयाँ खर्च गरेर कागजको मतपत्र छाप्ने र सुरक्षाका साथ दुई दिन लगाएर बोक्नुपर्ने बाध्यता दुखद छ,' उनले भने, 'डिजिटल नेपालको लक्ष्य पूरा गर्न सरकार प्रविधिमैत्री बन्नुको विकल्प छैन। अब डिजिटल मार्गको माग बढ्दो छ र मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारमा तीव्रता दिइरहेको छ।'
उनले सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको र जेन-जी आन्दोलनको भावना अनुरूप सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत अतिथिले सरकारले लगानीको सुरक्षा प्रत्याभूति गर्ने वातावरण बनाउन र स्पष्ट लगानी संरक्षण नीति ल्याउन आग्रह गर्दै सूचना प्रविधिको क्षेत्रमा रोजगारीका हजारौं अवसर सिर्जना गर्न सकिने बताए।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबीचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताए। क्यान महासंघकी उपाध्यक्ष सिर्जना श्रेष्ठले कार्यक्रममा सञ्चालन हुने विभिन्न सत्रहरुबारे जानकारी दिइन्।
यसअन्तर्गत सम्मेलनको पहिलो दिन शनिबार 'आईटी व्यवसायको डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स' विषयमा केन्द्रित रहेर विशेष छलफलहरू भए। जसमा हाई-टेक, टेक वर्ल्ड डिस्ट्रिब्युसनलगायत प्रमुख कम्पनीहरूले आ-आफ्नो नवीन प्रविधिको प्रस्तुति दिएका थिए।
कार्यक्रमको पहिलो दिनको अन्त्यमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सम्मेलनको उद्देश्यमाथि प्रष्ट पारे। अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताए। सम्मेलनको दोस्रो दिन आज साँझसम्म चल्ने कार्यक्रम विशेषगरी 'साइबर सुरक्षा र एआई' मा केन्द्रित रहने छ।
भोलिको सत्रमा वर्तमान समयमा बढ्दो साइबर चुनौती र ती समस्या समाधानमा एआईको भूमिकाबारे विज्ञहरूसँग प्यानल छलफल हुनेछ। दुई दिने यस समिटमा १०० भन्दा बढी प्राविधिक प्रतिनिधि र व्यवसायीहरूको सहभागिता छ।
प्रतिक्रिया