काठमाडौं– दुवई अदालतले मुत्युदण्डको फैसला सुनाएका र्दाचुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ । नेपाल सरकारको ध्यानार्कषण गराउन र बमको रिहाइको पहलका लागि दबाब दिन देशव्यापी अभियान थालिएको हो ।
अभियान अन्तर्गत पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी अमरबहादुर बम बचाऊ अभियानले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
विज्ञप्ति
अमरबहादुर बम अभियानद्वारा
दबाबमूलक कार्यक्रम घोषणा
पत्रकार साथीहरू १ ९ पुष २०८२
आज हामी यहाँ कुनै साधारण विषय लिएर उपस्थित भएका छैनौँ । हामी एउटा राज्यको संवेदनशीलता, सरकारको नैतिकता र लोकतन्त्रको आत्माबारे प्रश्न उठाउन यहाँ उभिएका हौँ । हामी २२ वर्षदेखि दुबईको जेलमा मृत्युदण्डको सजाय कुर्दै बाँचिरहेका एक निर्दोष नेपाली नागरिक अमरबहादुर बमको जीवन र नेपाल सरकारको नैतिक अस्तित्वको प्रश्न उठाउन उभिएका छौँ।
अमरबहादुरलाई मृत्युदण्ड दिने दुवई अदालतको फैसलाको विषय अब केवल कानुनी प्रक्रिया होइन, यो राज्यको संवेदनशीलता, कूटनीतिक इच्छाशक्ति र नागरिकप्रतिको दायित्वको कठोर परीक्षा बनेको छ। अमरबहादुर बम कुनै अपराधी होइनन् । उनी हत्याका योजनाकार होइनन्, नत घटनास्थलका अभियुक्त नै । उनी केवल रोजगारीका लागि विदेश पुगेका एक गरिब नेपाली नागरिक हुन्, जो गलत मानिससँग, गलत समयमा, गलत ठाउँमा परे । भाषाको अनिवज्ञता, कानुनी सहायताको अभाव र अमानवीय यातना दिएर उन लाई मतियारको अभियोग लगाएर मृत्युदण्डको फैसला सुनाइयो । यो न्याय कदापि होइन, नेपाली नागरिकले खेपिरहेको अमानवीय हिंसा थियो।
सबैभन्दा गम्भीर तथ्य के हो भने, यही मुद्दाका मुख्य अभियुक्तहरूले दुबई अदालत र अपिल अदालतमा लिखित रूपमा स्वीकार गरिसकेका छन्—अमर निर्दोष छन्, हत्याको कुनै योजनाबारे उनलाई जानकारी थिएन। त्यसपछि पनि यदि एक निर्दोष नेपाली मृत्युदण्ड कुर्न विवश छ भने, प्रश्न दुबईको न्याय प्रणालीमाथि मात्र होइन, नेपाल राज्यको मौनतामाथि गम्भीर रूपले उठेको छ।
२२ वर्ष, यो कुनै सामान्य समय होइन। यो एक मान्छेको जवानी, सपना, परिवार र जीवन समाप्त पार्ने समय हो। अमरले भनेका छन्, दिन र रात एउटैजस्ता लाग्छन्, समय रोकिएको महसुस हुन्छ । सबैभन्दा डरलाग्दो कुरा मृत्यु होइन, राज्यको मौनता हो। विदेशमा थुनिएको नागरिकलाई आफ्नै देशले बिर्सनु नै अमरमाथि हाम्रो राज्यले दिएको सबैभन्दा ठूलो सजाय हो।
हामी स्पष्ट रूपमा भन्छौँ, संयुक्त अरब इमिरेट्समा यो मुद्दाको समाधान सम्भव छ । अदालतभन्दा माथि शासक हुने संरचनामा प्रधानमन्त्रीस्तरको प्रत्यक्ष कूटनीतिक पहलबाट आममाफी सम्भव छ। संसारका धेरै देशका राष्ट्रप्रमुखहरू आफ्ना नागरिकका लागि जेलसम्म पुग्छन्, आग्रह गर्छन्, र नागरिकलाई स्वदेश फर्काउँछन्। नेपालले किन सक्दैन रु यो मुद्दा कानुनीभन्दा बढी राजनीतिक इच्छाशक्ति र मानवीय निर्णयको विषय हो । यदि आज पनि राज्य मौन रह्यो भने, अमरबहादुर बम मात्र मारिने छैनन्, नेपालको संविधानले दिएको “नागरिकको संरक्षण” भन्ने प्रतिबद्धता मृत्युसरह हुनेछ ।
त्यसैले एउटा निर्दोष नागरिकलाई मृत्युदण्डमा जान दिनु राज्यको अपराध हुनेछ। ढिलाइ गर्नु राज्यकै गैरजिम्मेवारी ठहरिनेछ । मौन बस्नु इतिहाससँग गरेको विश्वासघात हुनेछ। दुबईको जेलमा २२ वर्षदेखि मृत्युदण्डको आदेश सुनेर बाँचिरहेका नेपाली नागरिक अमरबहादुर बम केवल एउटा व्यक्ति होइनन्। उनी नेपालको राज्यव्यवस्थाले विदेशमा कति आफ्ना नागरिकलाई चिन्छ, कति बिर्सन्छ भन्ने ज्वलन्त प्रश्न हो । मुद्दा नम्बर ६९०र२००३ भनेर चिनिने यो प्रकरण एउटा फाइल मात्र होइन, यो २२ वर्षदेखि न्यायको प्रतीक्षामा थुनिएको एउटा नेपालीको जीवनसँग सम्बन्धित विषय हो। अमरबहादुर बम हत्यारा होइनन्। उनी हत्याको योजनाकार पनि होइनन्। उनी केवल गरिबीले विदेश धकेलेको, रोजगारीको नाममा दुबई पुगेको एउटा नेपाली हुन्। यो कुरा स्वयं अपराधमा संलग्न भारतीय नागरिकहरूले दुबई अदालतलाई पत्र लेखेरै स्वीकार गरिसकेका छन्, “अमरलाई केही थाहा थिएन।” तर प्रश्न उठ्छ, जब घटनामा संलग्नहरूले नै अमर निर्दोष हो भनेर स्वीकार गर्छन्, भने निर्दोष नेपाली किन मृत्युदण्डको पर्खाइमा छ रु भाषा नबुझ्ने, कानुनी सहायता नपाउने, यातनाबाट अपराध स्वीकार गर्न बाध्य पारिने, यी सबै घटनाक्रमले अमरलाई जबर्जस्ति अपराधी करार गराइयो ।
यो न्याय होइन, यो यन्त्रवत् न्याय प्रणालीको हिंसा हो। जहाँ मान्छे होइन, फाइल बोल्छ। जहाँ सत्य होइन, अनुमान निर्णायक बनिदिन्छ । संयुक्त अरब इमिरेट्समा अदालतभन्दा माथि राजा हुन्छन्। यो तथ्य नयाँ होइन। धेरै देशका प्रधानमन्त्री, राष्ट्रपति आफ्ना नागरिकका लागि त्यहाँ पुगेर आममाफी गराएर फर्किएका उदाहरण धेरै छन् । यदि अरू देशका नागरिकको जीवन बचाउन सकिन्छ भने, नेपाली नागरिक किन सकिन्न नेपाल सरकारले किन पहल लिदैन रु
अतस् हामी नेपाल सरकार, विशेषगरी प्रधानमन्त्रीज्यूलाई मानवीय संवेदनशीलता, संवैधानिक दायित्व र नागरिकप्रतिको अभिभावकीय जिम्मेवारी स्मरण गराउँदै, निर्दोष नेपाली नागरिक अमरबहादुर बमको जीवनरक्षाका लागि संयुक्त अरब इमिरेट्स
(दुबई) सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न जोडदार अपिल गर्दछौं । एउटा निर्दोष नागरिकको जीवन बचाउनु केवल मानवीय कर्तव्य मात्र होइन, नेपालको नैतिक गरिमा र राज्यको प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। आजको मौनता भोलि अपूरणीय क्षतिमा परिणत नहोस्। सरकार तुरुन्त अघि बढोस् ।
पहिलो चरण
पुस ११ गते शुक्रबार प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाउने ।
पुस १२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहित सरकार निर्दोष अमरलाइ बचाउ भनेर अभियान चलाउने ।
पुष १४ गते राजदुतावासलाइ पत्र बुझाउने ।
पुष १६ गते प्रधानमन्त्रीलाइ ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान
पुष १७ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीलाइ एसएमएस पठाउने ।
पुष २० गते हस्ताक्षर अभियान गर्ने ।
पुष २२ गते संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने ।
पुनर्श्चस् यदि पहिलो चरणमा पनि सरकारबाट अमरलाइ बचाउने विषयमा कुनै पहल नभए थप सशक्त कार्यक्रमहरू घोषणा गरिनेछ ।
अमरबहादुर बम बचाउ अभियान
प्रतिक्रिया