काठमाडौं- नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गत भदौ २३ र २४ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
मंगलबार नाइमाका अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले सम्बन्धित निकायलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सोही सहयोगका कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको उल्लेख गरे। उनले सहयोगप्रति नाइमाप्रति आभार समेत व्यक्त गरे ।
यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत तथा सदस्यहरूको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे। उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक प्रहरी कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापित गर्न सफल भएको उल्लेख गर्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको भरपर्दो सहयात्रीको रूपमा चित्रण गरे।
कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै आगामी दिनहरूमा यस्ता सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन् ।
कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण प्रस्तुत गर्दै यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल तथा ढोकाको पुनर्निर्माण गरिएको र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री सहयोग स्वरूप उपलब्ध गराइएको जानकारी दिए।
प्रतिक्रिया