अपडेट

एघार जीवन बीमा कम्पनीहरुद्वारा नयाँ बोनसदर घोषणा

विहीबार, १० पुस २०८२, १६ : ३२

काठमाडौं- हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ११ कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन्। 

नेपाल बीमा प्राधिकरणबाट बीमाङ्कीय मूल्यांकन स्वीकृत भएपछि कम्पनीहरूले मुनाफामा सरिक हुने विभिन्न जीवन बीमा पोलिसीमा प्रतिहजारका दरले बोनस घोषणा गरेका हुन्।

कम्पनीहरूले सार्वजनिक गरेका बोनसदर बीमालेखको प्रकार र बीमा अवधिअनुसार फरक–फरक रहेको छ। 

सार्वजनिक विवरणअनुसार न्यूनतम करिब २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने व्यवस्था गरिएको छ। यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागू हुनेछ।

नेपाल लाइफ, नेशनल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, मेट लाइफ, सन नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफले बोनसदर सार्वजनिक गरेका हुन् ।

बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङ्कीय मूल्यांकन स्वीकृत नहुन्जेलसम्म यी बोनसदरहरू लागू रहनेछन्।

बाँकी ३ जीवन बीमा कम्पनीले भने हालसम्म बोनसदर सार्वजनिक गरेका छैनन्।

 
 
विहीबार, १० पुस २०८२, १६ : ३२

प्रतिक्रिया