मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

विहीबार, १० पुस २०८२, १६ : ५४

काठमाडौं- मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ । 

चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। 

पहुँच सडक निर्माणका लागि व्यास-४ तर्फ केही घरटहरा हटाउनुपर्ने र व्यास-५ तर्फ सडक डिभिजन कार्यालय स्थानान्तरण गर्नुपर्ने देखिन्छ । पुल निर्माणको जिम्मा पाएको अन्नक जेडआइष्टी जेभीले चार लेनको पुलको काम ७४ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेकामा गत भदौ २१ गते ठेक्का म्याद सकिएपछि पुन आगामी असार १९ गतेसम्मका लागि म्याद थप भएको छ ।

एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल हुने जनाइएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । 

हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।

 
विहीबार, १० पुस २०८२, १६ : ५४

प्रतिक्रिया