काठमाडौँ - नेपाली बजारमा मात्र होइन यहाँ उत्पादिन अचारले अन्तराष्ट्रिय बजारमा पनि स्थान पाउन थालेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८ करोड २४ लाख ८८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार १ लाख ४० हजार ३०४ किलो अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो । क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, अमेरिका, इटाली, बेलायत, बेल्जियम, डेनमार्क र मलेसियामा अचार निर्यात भएको छ ।
विभागका अनुसार, सबैभन्दा बढी क्यानडामा १ करोड ९४ लाख ४२ हजार, अस्ट्रेलियामा १ करोड ९३ लाख १९ हजार रुपैयाँको अचार निर्यात भएको छ । कोरियामा १ करोड २५ लाख ३६ हजार, जापानमा ९३ लाख ४९ हजार, अमेरिकामा ८४ लाख २६ हजार, इटालीमा ६३ लाख १८ हजार, बेलायतमा ३६ लाख ८ हजार, बेल्जियममा २६ लाख ४८ हजार रुपैयाँको निर्यात भएको छ ।
नेपालले अस्ट्रेलिया, अमेरिका, इटाली, जापान, क्यानडा, बेल्जियम, बेलायत, डेनमार्क, कोरिया र मलेसियामा पनि गत वर्ष अचार निर्यात गरेको थियो । सबैभन्दा बढी अस्ट्रेलियामा ३ करोड ४ लाख ४० हजार र सबैभन्दा कम मलेसियामा ८ लाख ८० हजार रुपैयाँको अचार निर्यात भएको थियो । गत आर्थिक वर्षभर १८ करोड २६ लाख ४६ हजार रुपैयाँको अचार निर्यात गरेको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि मात्रै भन्सार विभागले अचार आयात र निर्यातको तथ्यांक राख्न थालेको हो । उक्त वर्ष ३९ लाख २२ हजार रुपैयाँको अचार निर्यात गरेको थियो । कोरोना महामारीपछि नेपालमा अचार उत्पादन उल्लेख्य रूपमा बढेको छ ।
स्वदेशमै उत्पादित विभिन्न ब्रान्डका अचार विशेषगरी तेस्रो मुलुकमा बसोबास गर्ने नेपालीहरूबीच लोकप्रिय बन्दै गएका छन् । यसैका कारण नेपाली अचारको माग विदेशमा बढेको हो ।
यसबाट काम गर्न चाहनेलाई स्वदेशमै पनि अवसर छ भन्ने पुष्टि भएको छ । स्वदेशमा रोजगारी सिर्जना हुनुको साथै अर्थतन्त्रमा पनि उल्लेख्य सहयोग पुग्ने विश्वसा गरिएको छ ।
प्रतिक्रिया