५ महिनामा काठमाडौं महानगरको १२ प्रतिशत मात्र पुँजीगत खर्च

शुक्रबार, ११ पुस २०८२, १४ : १५

काठमाडौं - देशकै राजधानी रहेको काठमाडौं महानगरपालिका बजेट खर्चमा कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौं महानगरपालिकाको बजेट खर्च न्यून देखिएको हो। महानगरले चालू आवको साउनदेखि पुस ९ गतेसम्म १८.४८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

उप प्रमुख सुनिता डंगोलले नगर सभाको १८औँ अधिवेशनमा दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा संक्षिप्त कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र आय–व्ययको अवस्था अनुसार कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । समग्र खर्चको प्रतिशत हेर्दा चालु खर्च २८.४४ प्रतिशत र पुँजीगत खर्च १२.३९ प्रतिशत भएको छ ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । त्यसैगरि, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले जानकारी दिइन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको देखिन्छ । आन्तरिक लेखा परीक्षण एकाइको खर्च ३८.७२ प्रतिशत र हनुमान ढोका दरबार क्षेत्र कार्यक्रममा २७.७३ प्रतिशत रकम खर्च भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयको २४.७९ प्रतिशत खर्च भएको छ ।

शुक्रबार, ११ पुस २०८२, १४ : १५

प्रतिक्रिया