हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

शनिबार, १२ पुस २०८२, १४ : ५६

काठमाडौं- हनुमान ढोका दरबार संग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।

हनुमान ढोका दरबार संग्रहालय विकास समितिको १६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा हनुमान ढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले दरबारका भित्री चोक तथा संग्रहालयको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्य समितिको रहेको बताए ।

समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले संग्रहालयका भवनहरूलाई मौलिक स्वरुपमै संरक्षण गर्दै २०७२ सालको भूकम्पपछि क्षति भएका संरचनाको पुनःसंरचना गरी सञ्चालन गर्नु आजको प्रमुख चुनौती रहेको बताए । इतिहासको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

पुरा तत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले हनुमानढोका दरबार संग्रहालयलाई जीवन्त राख्न सरकार, विकास समिति र अन्य सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे । विश्व सम्पदा क्षेत्रको अभिन्न अंगका रूपमा रहेको हनुमानढोका दरबार सांस्कृतिक, धार्मिक, पुरा तात्त्विक तथा ऐतिहासिक महत्त्वका कारण सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । लिच्छिविकालमा ‘दक्षिणकोलीय ग्राम’का रूपमा परिचित यो स्थल मध्यकालको उत्तरार्धमा मल्ल राजाहरूको शासनकालमा महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित भएको इतिहास छ ।

स्थापना दिवसका अवसरमा समितिले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मानसमेत गरेको थियो । सम्मानित हुनेमा तलेजु मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य, खरिदार रामशरण भारती, कार्यालय सहयोगी लक्ष्मीकुमारी डङ्गोल र रमिला देउला रहेका छन् ।

ऋन् न्चयगउअयकmयक अयििभनभ
कार्यक्रमका अवसरमा संग्रहालयसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो । हनुमान ढोका दरबार संग्रहालय विकास समितिको स्थापना १२ पुस २०६७ मा भएको हो ।

 
शनिबार, १२ पुस २०८२, १४ : ५६

प्रतिक्रिया