प्रमुख राजनीतिक दलहरू विघटनमा रहेका र धेरै नेताहरू जेलमै रहेको अवस्थामा म्यान्मारमा सुरु भएको निर्वाचन देखावटी भएको भन्दै आलोचना भएको छ।
देशमा जारी गृहयुद्धबीच चरणबद्ध रूपमा हुने चुनावमा आधा जनसङ्ख्याले मतदान नगर्ने ठानिएको छ।
कू मार्फत् सत्ता हातमा लिएपछि व्यापक विरोध र गृहयुद्धको सामना गरिरहेको म्यान्मारको सैनिक सरकारले पाँच वर्षपछि चुनावमार्फत् आफ्नो सत्तालाई वैधता दिने प्रयास गरिरहेको छ।
मृत्युदण्ड सहितका कैयौँ सजाय हुने नयाँ कानुन अन्तर्गत २०० जना चुनावमा अवरोध वा विरोध गरेको आरोपमा पक्राउ परेका छन्।
आइतवार मतदान सुरु भएपछि म्यान्मारका दुई क्षेत्रमा विस्फोट भएका विवरण आएका छन्।
थाइल्यान्डको सीमा नजिकको म्यान्डले क्षेत्रबाट रकेट आक्रमण र विस्फोटका विवरण आएका हुन्। मानव बसोबास नभएको एउटा घरमा आइतवार सबेरै भएको रकेट आक्रमणपछि तीन जनालाई अस्पताल लगिएको त्यहाँका मुख्यमन्त्रीले बीबीसीलाई बताएका छन्।
शनिवार भएका शृङ्खलाबद्ध विस्फोटमा म्यान्डले सहरका १० वटा घरमा क्षति पुगेको थियो। एक जना स्थानीय बासिन्दाले घटनामा एक बालकको मृत्यु हुनुका साथै गम्भीर घाइते अवस्थामा रहेका तीन जनालाई अस्पताल पुर्याइएको बीबीसीसँग बताएका छन्।
‘मतदान गर्नु अघिसम्म मलाई पनि डर लागेको थियो। अहिले भोट हालिसकेपछि मलाई राहत महसुस भएको छ। देशको लागि राम्रो गर्न सक्दो प्रयास स्वरूप मैले भोट हालेको छु,’ म्यान्डलेका मा सु जारचीले बीबीसीसँग भने।
बर्माको जुन्ताले चुनावबारे भइरहेको आलोचनालाई खण्डन गर्दै यसको उद्देश्य ‘बहुदलीय लोकतान्त्रिक प्रणालीमा फर्कनु’ रहेको बताएको छ।
राजधानीमा रहेको उच्च सुरक्षा दलको मतदान केन्द्रमा मतदान गरेपछि जुन्ताका प्रमुख मीन आङ ह्लाइङले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने बीबीसीसँग बताए।
‘म सशस्त्र बलको प्रमुख हुँ, म निजामती कर्मचारी हुँ। म राष्ट्रपति बन्न चाहन्छु भन्न सक्दिनँ,’ उनले भने।
उनका अनुसार निर्वाचन तीन चरणमा हुँदै छ।
जुन्ताका प्रमुख मीन आङ ह्लाइङले राजधानी नेपीदमा मतदान गरेका छन्
यसै साताको आरम्भमा उनले मतदान गर्न अस्वीकार गर्नेहरूले ‘लोकतन्त्रतर्फको प्रगती’लाई अस्वीकार गरिरहेको बताएका थिए।
चलचित्र निर्देशक माइक टी, कलाकार क्याव विन हटुट र हास्य कलाकार ओहन डेइङ सहितलाई गत जुलाईमा जारी भएको नयाँ कानुन अन्तर्गत निर्वाचन बिथोलेको कसुरमा दोषी ठहर गरिएको थियो ।
चुनावको प्रवर्द्धन गर्न बनाइएको एउटा चलचित्रको आलोचना गरेको कसुरमा उनीहरूलाई सात वर्षको जेल सजाय तोकिएको सरकारी सञ्चार माध्यमले जनाएका छन्।
‘अभिव्यक्ति स्वतन्त्रता, सङ्गठन निर्माण वा शान्तिपूर्ण भेला हुने स्वतन्त्रताको प्रयोगका लागि कुनै सर्तहरू हुनु हुँदैन,’ संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी शीर्ष अधिकारी फोल्कर ट्यूकले भने।
उनले मङ्गलवार जारी गरेको एक विज्ञप्तिमा नागरिकहरूलाई ‘सबै पक्षबाट दबाव रहेको’ उल्लेख गरेका छन्।
म्यान्मारमा सशस्त्र सङ्घर्ष गरिरहेका विद्रोही समूहहरूले मानिसहरूलाई चुनाव बहिष्कार गर्न धम्की जारी गरेका छन्।
तीन चरणमा हुने चुनावअन्तर्गत अर्को महिना देशका ३३० सहरमध्ये २६५ मा चुनाव हुँदै छ। चुनावको अन्तिम नतिजा ज्यानुअरीको अन्त्यतिर आउने अपेक्षा गरिएको छ।
मतदान गरिरहेका सहरहरूमध्ये पनि सबै निर्वाचन क्षेत्रमा चुनाव नहुने ठानिएको छ। जसकारण देशको आधा भागमा मतदान नहुने ठानिएको छ।
सेनासमर्थित ‘युनियन सोलिडारिटी एन्ड डेभलपमन्ट पार्टी’ सहित ६ दलहरूले मात्रै देशव्यापी रूपमा उम्मेदवारी दिएका छन्। बाँकी ५१ वटा दल र स्वतन्त्र उम्मेदवारहरूले प्रदेश वा क्षेत्रीय स्तरमा मात्र उम्मेदवारी दिनेछन्।
आङ सान सू चीको ‘न्याश्नल लीग अफ डेमोक्रेसी’ सहित करिब ४० दलमाथि प्रतिबन्ध लगाइएको छ। सू ची र उक्त पार्टीका कैयौँ नेतालाई जेल चलान गरिएको छ भने अन्य नेताहरू निर्वासनमा छन्।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया