काठमाडौं- श्री गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभा तथा रजत वर्ष जयन्ती शनिबार ललितपुरको शंखमूलस्थित यल दरबार भेन्यूमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रत्नलाल महर्जनको सभापतित्व तथा संस्थाकी जेष्ठ सदस्य नानीमाया महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा कुल सेयर सदस्यहरूमध्ये ८२ प्रतिशत (१,६५० जना) को उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि व्यापक छलफल पश्चात साधारण सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ।
रजत जयन्तीको विशेष अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व. केदारलाल प्रधानलाई मरणोपरान्त ‘श्रीगणेश विशेष सम्मान’ प्रदान गरिएको छ। संस्थाको २५ वर्षे यात्राको आधारशिला खडा गर्न महत्वपूर्ण योगदान पुर्याएका स्व. प्रधानको सम्मान निवर्तमान तथा वर्तमान अध्यक्ष रत्नलाल महर्जनद्वारा उनका सुपुत्र सुधिरलाल प्रधानलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो।
सोही अवसरमा प्रमुख अतिथि नानीमाया महर्जनद्वारा ‘श्रीगणेश रजत जयन्ती स्मारिका २०८२’ को विमोचन गरिएको छ। सचिव अनिलमान महर्जनले संस्थाको विस्तृत सदस्य तथ्यांक प्रतिवेदन अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।
साधारण सभाबाट रिक्त रहेको कोषाध्यक्ष पदमा विकास महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
रजत वर्षको अवसर पारेर संस्थाले समाज र संस्थाको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा समूहलाई सम्मान समेत गरेको छ। यस अन्तर्गत १६ जना संस्थापक सदस्यलाई ‘संस्थापक सम्मान’ प्रदान गरिएको छ।
साथै, संस्थाबाट श्रीगणेश जेष्ठ सदस्य सम्मान गरिँदै आएको छ । वर्षेनी संस्थाका जंकु (भिमर थारोहण) गरि सकेका वा ७८ वर्ष पुगेका जेष्ठ सदस्यहरूलाई जनही ३,००० नगद सहित सम्मान गरिँदै आएकोमा अहिले २२ जना जेष्ठ सदस्यहरू सम्मानित भएका छन् ।
त्यसैगरी, कक्षा १२ उत्तीर्ण गरेका ५ जना उत्कृष्ट विद्यार्थीलाई शैक्षिक प्रोत्साहन सम्मान प्रदान गरिएको छ। संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा विभिन्न उप–समितिका सदस्यलाई सम्मान गरिएको छ भने १५ जना कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको छ।
साधारणसभा तथा रजत जयन्ती सम्पन्न भएसँगै सहभागी सदस्यहरूले संस्थाको आगामी दिनमा अझ सुदृढ र उत्तरदायी सहकारीका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया