काठमाडौं- जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले बोनसको विषयलाई लिएर गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले मिति २०८२/०९/०८ गते श्रमिक युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगको आन्तरिक विषयवस्तु उठाइएको र त्यसका आधारमा मिडियामा प्रकाशित तथा प्रशारित समाचारप्रति आपत्ति जनाएको हो।
कम्पनीका अनुसार श्रमिक युनियनका पदाधिकारीहरूले प्रचलित बोनस ऐन, २०३० र नियमअनुसार पाउने बोनस रकम नबुझी मनोमानी ढंगले बढी बोनस माग गरेका छन्। मागबमोजिम रकम उपलब्ध नगराउँदा व्यवस्थापन पक्षलाई धाकधम्की दिने, उद्योग परिसरमा असहज वातावरण सिर्जना गर्ने तथा उद्योगको अहित हुने गरी तथ्यहीन आरोप लगाउँदै पत्रकार सम्मेलन गर्ने जस्ता कार्य गरिएको कम्पनीको दाबी छ।
कम्पनीले बोनस वितरण सम्बन्धी विवाद समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा सहजिकरणका लागि अनुरोधसमेत गरेको जनाएको छ। तर बोनस ऐन विपरीत गैरकानुनी रूपमा माग गरिएको रकम तोकिएको मितिभित्र नदिए बन्दहड्ताल गर्ने अल्टिमेटम दिएपछि न्यायिक निकासका लागि अदालतको शरण लिन बाध्य भएको कम्पनीको भनाइ छ। सो विवादमा अदालतबाट फैसला भइसकेको समेत कम्पनीले जनाएको छ।
अदालतको फैसलापछि पनि श्रमिक युनियनले पुनः बोनसको बहानामा कारखाना बन्द गर्ने धम्की दिने, पत्रकार सम्मेलन गर्ने तथा सामाजिक सञ्जालमार्फत दबाबमूलक सामग्री सम्प्रेषण गर्ने गैरजिम्मेवार गतिविधि गरिरहेको कम्पनीको आरोप छ।
कम्पनीले यसअघि हुलास स्टील, त्रिवेणी स्पिनिङ र भगवती स्टील इन्डस्ट्रिजमा देखिएको जस्तै व्यवहार आफूहरूसँग पनि गरिने धम्की आएको र मिति २०८२/०५/२९ गते सोही किसिमको दुर्व्यवहार बताउँदै विगत तीन महिनादेखि उद्योग व्यवस्थापन पक्ष उद्योग परिसरमा उपस्थित हुन नसकेको जनाएको छ।
जगदम्बा स्टील्स लिमिटेडले कम्पनी बोनस ऐन, २०३० बमोजिम नियमअनुसार कर्मचारी तथा श्रमिकहरूलाई बोनस वितरण गर्न तयार रहेको स्पष्ट पारेको छ।
प्रतिक्रिया