बास नेपालद्वारा दाङको गढवामा फ्रिडम किट व्याग वितरण तथा सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न

बुधबार, १६ पुस २०८२, १३ : २०

काठमाडौं- बास नेपालले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६, मानिकापुरस्थित पिपल चौतारामा फ्रिडम किटब्याग्स युकेको आर्थिक सहयोगमा फ्रिडम किट व्याग वितरण तथा सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार आयोजित उक्त कार्यक्रममा स्थानीय ७५ जना महिला तथा किशोरीहरूलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडसहितको फ्रिडम किट ब्याग्स वितरण गरिएको थियो। साथै महिनावारी स्वच्छता र सामुदायिक शिक्षासम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व राष्ट्रियसभा सदस्य मीना बुढाले आफ्नो मन्तव्य राख्दै यस किसिमको ज्ञान आफूहरूको पुस्ताले आफ्ना बुहारीहरूलाई दिन नसकेको उल्लेख गरिन्। यस्ता कार्यक्रमबाट समुदायले व्यवहारिक र आवश्यक ज्ञान पाएकोमा खुसी व्यक्त गर्दै उनले महिनावारी स्वच्छता महिलाका लागि मात्र नभई पुरुषहरूले पनि बुझ्नुपर्ने विषय भएको बताइन्।

कार्यक्रममा सहभागी महिला तथा किशोरीहरूले ग्रामीण क्षेत्रमा प्याड किन्न नसक्ने अवस्था वा पहुँचको अभावका कारण महिनावारी झन् पीडादायी हुने गरेको अनुभव सुनाए। फ्रिडम किट ब्याग्स प्राप्त गरेपछि महिनावारीका बेला भोग्नु पर्ने समस्यामा राहत पुग्ने उनीहरूको विश्वास रहेको थियो। साथै छुटेका अन्य महिलाहरूका लागि पनि यस्ता कार्यक्रम विस्तार गर्न उनीहरूले आग्रह गरे।

कार्यक्रमअन्तर्गत बास नेपालकी फ्रिडम किट ब्याग्स परियोजनाकी पूर्व व्यवस्थापक राष्टि बुढामगरले सामुदायिक शिक्षा प्रदान गरेकी थिइन् भने परियोजना व्यवस्थापक रमिता शाह र एजुकेशन अफिसर मिना घर्तिमगरले फ्रिडम किट ब्याग्सको प्रयोग विधिबारे कक्षा सञ्चालन गरेका थिए।

गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक कर्णबहादुर बुढा, कार्यक्रम संयोजक स्थानीय युवा बुद्धिबल बुढा, बास नेपालका निर्देशक हेमराज भट्टलगायतको उपस्थिति रहेको थियो।

बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधवकुमार कार्कीले गरेका थिए।

 
बुधबार, १६ पुस २०८२, १३ : २०

प्रतिक्रिया