काठमाडौं– निर्वाचन आयोगले केही चर्चित नेताहरुलाई चुनाव लड्न नपाउने गरी कालो सूची(ब्ल्याक लिस्ट )मा राखेको चर्चाले राजनीतिक वृत्त तरंगित बनेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापा देखि नेकपा एमालेका सचिवद्वय राजन भट्टराई र शेरधन राईसम्मका चर्चित नेताहरु नै निर्वाचन आयोगको कालोसूचीमा परेको भन्दै निर्वाचन लड्न नपाउने चर्चा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
थापाले गत २०७९ सालको निर्वाचनमा काठमाडौं–४ मा कांग्रेसबाट थापा र एमालेबाट भट्टराई उम्मेदवार थिए। भट्टराईलाई थापाले भारी मतान्तरले पराजित गरेका थिए। यसैगरी भोजपुर -१ बाट शेरधन राईले निर्वाचन लडेका थिए।
राईलाई भोजपुरबाट माओवादी केन्द्रका सुदन किरातीले पराजित गरेका थिए। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विगतका निर्वाचनमा उम्मेदवार भएर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण आयोगमा नबुझाउने र मतदातामाझ सार्वजनिक नगर्ने दुवै खाले उम्मेदवार आयोगको ‘ब्ल्याक लिस्ट’ मा रहेको बताइएको छ ।
आयोगले उनीहरुलाई १५/१५ हजार जरिवानासमेत गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने १ हजार ८० जना उम्मेदवार निर्वाचन आयोगको ब्ल्याक लिस्टमा परेको बताइएको थियो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिले प्रचार भएको विषय सत्य नभएको र आयोगले आजै त्यसबारे स्पष्ट पार्दै प्रेस नोट जारी गर्ने तयारी गरेको छ ।
सहायक प्रवक्ता जिसीले कसैलाई ब्ल्याक लिष्टमा पार्ने काम निर्वाचन आयोगले नगरेको र कानुनमा पनि त्यो व्यवस्था नरहेको बताए । ‘निर्वाचन आयोगले कसैलाई ब्ल्याक लिष्टमा पारेको पनि छैन र कानुनमा पनि त्यो कुरा उल्लेख छैन,’ जिसीले भने ।
प्रतिक्रिया