काठमाडौं– निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औंल्याउने काम गरिरहेको छ ।
पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही २० पुसमा औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ ।
यही २८ पुसदेखि आगामी ३ माघसम्म दलले मिलाएको बन्दसूची जाँच गरी आगामी २० माघमा अन्तिम सूची प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिए ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए /नमिलाएकोलगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए । उनले आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिए ।
प्रतिक्रिया