चितवन– पछिल्लो समय सडकमा सवारीसाधनले ठक्कर दिएर फरार हुने ‘हिट एण्ड रन’का घटना बढ्दै गएका छन्। सवारीसाधनको चाप बढेसँगै यस्तो दुर्घटना हुने प्रवृत्ति पनि उच्च भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन्। उनले भने, “ठक्कर दिएर चालक भागे पनि कोही उम्कन पाउँदैनन्। प्रहरी कानुनी दायरामा ल्याएर कारबाही गर्छ।”
उनले दुर्घटना हुँदा चालकले तुरुन्तै प्रहरीलाई जानकारी दिनु आवश्यक रहेको र आत्मसर्मपण गरेमा घाइतेको उपचार छिटो हुने, कानुनी प्रक्रिया सहज हुने बताए। प्रमुख पुरीले जोड दिए, “दुर्घटना गरेपछि भागेँ भने बचिन्छ भन्ने सोच गलत हो। चालकले आफ्नो गल्ती स्वीकार्न जरुरी छ।”
चितवन देशको मध्य भागमा पर्ने भएकाले पूर्व–पश्चिम राजमार्ग र काठमाडौँ प्रवेश गर्ने मुख्य सडक यहीँ भएर जाने भएकाले सवारी आवागमन बढी छ। प्रहरीले यस्ता घटनालाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाएर सतर्कता अपनाइरहेको छ।
प्रतिक्रिया