काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफलपछि पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू अनुमोदन गरिएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिकसमेत निर्धारण गरेको छ।
सभाबाट संस्थापक समूहअन्तर्गत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। साधारण सभा पश्चात बसेको सञ्चालक समितिको ४०७ औँ बैठकले संघईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।
सभामा अध्यक्ष गोविन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरु बीच अझै थप उचाइमा पु¥याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई समेत अवलम्बन गरिरहेको कुरा जानकारी गराए । यस्तै निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै शेयरधनी महानुभावहरु र कम्पनीका सम्पूर्ण बीमितहरुलाई संचालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरे । साथै नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र अन्य सम्बन्धित निकायहरुबाट प्राप्त निरन्तर सहयोग र मार्ग निर्देशनका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
अध्यक्ष संघईले कम्पनीको लक्ष्य हासिल गर्न निरन्तर कार्य गर्ने कर्मचारीहरु, समस्त अभिकर्ताहरु र कम्पनीको उत्थानप्रति गहन अभिरुचि, नियमित नियमन, बहुमूल्य सुझाव एवं समय प्रदान गर्नु हुने संचालक समितिका सदस्यज्यूहरुलाई पनि हार्दिक धन्यवाद दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकुल मौसमका बावजुद पनि उल्लेख्य उपस्थितिका निम्ति सबै शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गरे । विषम परिस्थितिकाबीच पनि अग्रस्थान हासिल गर्न कम्पनी सफल भएकोमा हर्षित भएको बताए । वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बीमा व्यवसायको आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा सम्पूर्ण सरोकारवालाहरू एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह गरे । आर्थिक स्थायित्व नै राष्ट्रको चौतर्फी स्थायित्वको आधारस्तम्भ रहेको र सो स्थायित्व कायम गर्न हामी सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने अवस्था सृजित भएको बताउनुभयो। विषम परिस्थितिकोलाई मनन गर्दै कम्पनीले सम्पूर्ण सरोकारवालाहरूको माग सम्बोधन गर्नका निम्ति लगानी विविधिकरणको रणनीति अवलम्बन गरेर कार्यसम्पादन गर्दै आएको कुरा सभालाई बताए ।
सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व.२०८१/८२ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संघर्षरत अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे । आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि यो लाभांश वितरण गर्न पाउँदा
गौरवान्वित महसुस भएको बताए । उनले लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सो लाई नै मूर्तता प्रदान गर्न विभिन्न कार्यहरु भइरहेको बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले साधारण सभामा शेयरधनीहरुले राख्नु भएको सुझावहरुलाई सकरात्मक रूपमा लिईने बताए ।
२०८२ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष रु. १३ अर्ब बढी रहेको छ ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीलेहालसम्म रु.३२६ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने रु. १०३ अर्ब जम्मा दावी भुक्तानी गरेको छ ।
ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया