शिक्षा, राजनीति र साहित्यको संगम : ‘सिस्ने विद्यार्थी दर्पण’ विमोचन

सोमबार, २१ पुस २०८२, १४ : ३७

रुकुमपूर्व- सिस्ने शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा प्रकाशित ‘सिस्ने विद्यार्थी दर्पण’ स्मारिकाको शनिबार एक विशेष कार्यक्रमबीच विमोचन गरिएको छ। जिल्लाको एकमात्र क्याम्पसबाट पहिलोपटक पुस्तक प्रकाशन गरिएको यो स्मारिकाको विमोचन जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहन बहादुर केसीले गरेका हुन्।

स्ववियु अध्यक्ष अम्मर खत्रीका अनुसार स्मारिकाको पहिलो अंकमा क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था, जिल्लाको समग्र शैक्षिक अवस्थासम्बन्धी तथ्यांक, अभिभावक–शिक्षक–विद्यार्थीबीचको भूमिका, राजनीति तथा सामाजिक काममा सक्रिय विद्यार्थीहरूका अनुभव, साथै साहित्यमा रुचि राख्ने विद्यार्थीका लेख–रचनाहरू समेटिएका छन्।

स्ववियु अध्यक्ष अम्मर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मोहन केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौंतम, सिस्ने–३ का वडा अध्यक्ष हेराम खड्का, क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिकृष्ण गौंतम, क्याम्पस प्रमुख तिब्र गौंतम, शिक्षक महासंघका जिल्ला अध्यक्ष मानबहादुर बस्नेत, स्ववियु पूर्व अध्यक्ष जयमान बुढालगायत शिक्षक, विद्यार्थी, युवा तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्ववियु सचिव विशाल घर्तीले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख मोहन केसीले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू भोलिको भविष्य निर्णय गर्ने सचेत शक्ति भएको उल्लेख गरे। स्ववियुले प्रकाशन गरेको स्मारिकाले विद्यार्थीहरूलाई राजनीतिक र सामाजिक क्षेत्रमा थप सक्रिय र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै उनले क्याम्पस र जिल्लाको शैक्षिक अवस्थाबारे उठाइएका विषयहरूको प्रशंसा गरे। यस्ता सिर्जनात्मक र शैक्षिक कार्यलाई निरन्तरता दिन उनले स्ववियुलाई आग्रहसमेत गरे।

 
सोमबार, २१ पुस २०८२, १४ : ३७

प्रतिक्रिया