काठमाडौं- शैक्षिक परामर्श व्यवसायीहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा एलबी तामाङले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि तामाङले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
शैक्षिक परामर्श क्षेत्रका सकारात्मक,नकारात्मक दुवै पक्षलाई केलाएर समग्र व्यवसायीहरुको पक्षमा काम गर्न सक्ने क्षमताका तामाङले आफ्नो उम्मेदवारी समग्र इक्यानीयनहरुको साझा उम्मेदवारीका रुपमा अर्थाएका छन् । ‘निर्वाचन भन्ने वित्तिकै एक, दुई समुह होला, तर, मेरो उम्मेदवारी समग्र इक्यानीयन साथीहरुको पक्षमा हो । इक्यानको इतिहासको लिगेसीलाई आत्मसाथ गरी बर्तमान अवस्थामा भविष्यको रुपरेखा समेत तयार पारेर म निर्वाचनमा होमिएको हुँ ।’ तामाङले भने ।
विगत डेढ दशक देखि शैक्षिक परामर्श व्यवसाय गर्दैगर्दा इक्यानका विभिन्न क्रियाकलापमा जोडिएर काम गर्दा आफुले धेरै कुरा सिकेकोले त्यो सिकाईलाई प्रयोगमा ल्याउनका लागि पनि सचिव पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । ‘विगतमा जे जति अनुभव र सिकाईहरु हासिल गरे त्यसलाई आम शैक्षिक परामर्श व्यवसायीहरुको हक अधिकारमा प्रयोग गर्न र यो संस्थालाई शैक्षिक परामर्श व्यवसायीहरुले गर्व गर्न लायक बनाउन पनि मेरो उम्मेदवारी हो ।’ तामाङ भन्छन् ।
शैक्षिक परामर्श क्षेत्रको व्यवसायिकता, नैतिककता, इमान्दारिता प्रति पटकपटक प्रहारहरु भइरहेको अवस्थामा प्रत्येक व्यवसायीहरुलाई आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण निर्माण गर्न, राज्यले अनुगमन नियमनका नाममा गर्ने क्रियाकलापलाई व्यवसाय र कानुनमैत्री बनाउन, उच्च शिक्षाका लागि विदेशीने विद्यार्थीको मात्र नभएर अभिभावक र विदेशी नियोगहरुसँगको सम्बन्धलाई व्यवसायीमैत्री बनाउन आफ्नो एजेण्डा रहेको उनको तर्क छ ।
संस्थाको जिम्मेवारी, दायित्व तथा स्थायित्व, व्यावसायिक प्रबद्र्धन र विद्यार्थी एवं अभिभावकबीच बलियो सम्बन्ध निर्माण गर्न सक्रिय भुमिका निर्वाह गर्दै सुशासन, पारदर्शिता, मितव्ययीता र जवाफदेहीता र प्रविधिमैत्री इक्यानका पक्षमा काम गर्ने बताउँदै तामाङले सम्पूर्ण इक्यानका सदस्यहरुलाई साथ, सहयोग गर्न आग्रह गरेका छन् । ‘सबल, सक्षम र पारदर्शी इक्यान, सम्पूर्ण व्यवसायीहरुको उत्थान !’ तामाङको नारा रहेको छ ।
यस पटक इक्यान निर्वाचनमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष एण्ड्रयू पौडेल र महासचिव दीपकराज भुसालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया