पार्टी एकताको पक्षमा उभिन कांग्रेस नेता खड्काको आह्वान (विज्ञप्तिसहित)

शनिबार, २६ पुस २०८२, २० : १२

काठमाडौं- पार्टीभित्र देखिएको आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै कांग्रेस नेता कृष्णबहादुर खड्काले सबैलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । कांग्रेस सुधार अभियानका सहअध्यक्ष एवं नेपाली नागरिक समाजका संयोजक समेत रहेका खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबारदेखि एक पक्षले घोषणा गरेको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको रस्साकस्सीले विभाजनको खतरा बढाएको बताएका हुन्।

‘आज बहुमतको दम्भ र अल्पमतलाई उपेक्षा गर्ने प्रवृत्तिले पार्टीमा विभाजनको बिज रोपेकोतर्फ ध्यान दिँदै दुबै पक्षले संयमता अपनाउन आवश्यक छ । देशको कठिन राजनीतिक अवस्थाको निकास दिन कांग्रेस विभाजित भएर होइन, एकताबद्ध हुन जरुरी छ ।’,खड्काले भनेका छन् । देश जटिल राजनीतिक संक्रमणको अवस्थामा गुज्रिरहेको बेला यसले आम कार्यकर्तामा अन्योल र निराशा पैदा गरेको उनको भनाइ छ।

खड्काले विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता आदर्शवान नेताहरूको योगदान स्मरण गर्दै कांग्रेस सधैं लोकतान्त्रिक विधि र प्रक्रियाबाट समस्या समाधान गर्ने पार्टी भएको बताएका छन्। तर, नेतृत्वले विधिसम्मत जिम्मेवारी निर्वाह नगर्दा र असहज परिस्थितिमा मनमानी ढंगले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने संकेत देखिएको उनको टिप्पणी छ।

उनले विशेष महाधिवेशन पक्षधरलाई पनि पार्टीको संस्थागत हितलाई केन्द्रमा राखी नेतृत्वसँग समन्वय गरेर समस्याको समाधान खोज्न आग्रह गरेका छन्। पार्टी एकता कमजोर पार्ने कुनै पनि कदम अस्वीकार्य हुने उनको चेतावनी छ।

‘पार्टी सभापति र महामन्त्रीद्धय दुबै पक्षले पार्टीको एकता अक्षुण राख्न आपसमा छलफल गरी वर्तमान समस्या समाधानका लागि आग्रह गर्दछु । देशभरका सबै कार्यकर्ता पार्टी एकताकै पक्षमा रहेकाले नेताहरु त्यस विपरीत गए अस्वीकार्य हुने चेतावनी दिँदै सबैलाई एकताको पक्षमा लाग्न अपिल गर्दछु ।’, नेता खड्काको विज्ञप्तिमा उल्लेख छ । 

वर्तमान अवस्थामा कांग्रेस विभाजित भए देशको लोकतान्त्रिक यात्रामा गम्भीर असर पर्ने उल्लेख गर्दै खड्काले राष्ट्रिय संकटको निकासका लागि एकताबद्ध कांग्रेस अपरिहार्य भएको बताएका छन्। आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने समयमा पार्टीभित्रको विवादले कार्यकर्तालाई निरुत्साहित बनाएको उनको भनाइ छ।

उनले पार्टी सभापति र महामन्त्रीलाई आपसी संवाद र समझदारीमार्फत पार्टीको एकता जोगाउन तत्काल पहल गर्न आग्रह गरेका छन्। साथै, देशभरका नेता–कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन अपिल गर्दै त्यसविपरीत जाने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

शनिबार, २६ पुस २०८२, २० : १२

प्रतिक्रिया