काठमाडौं- पत्रकार अर्जुन पन्त प्रतिनिधि सभा सदस्यका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको जिल्ला कार्यसमितिले उनलाई संघीय संसद्का लागि अघि सारेको हो ।
शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले गोरखा–१ बाट पन्तसहित पाँच जनाको नाम केन्द्रीय तहमा सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ ।
गोरखा फुजेल निवासी पन्त हाल रातोपाटी डटकममा आबद्ध छन् । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत हुन् । लामो समयदेखि पत्रकारितासँगै सामाजिक र राजनीतिक अभियानमा सक्रिय रहँदै आएका पन्तलाई वैकल्पिक र नयाँ अनुहारका रूपमा अघि सारिएको बताइएको छ ।
यस निर्वाचन क्षेत्रबाट सिफारिस हुने अन्यमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, शारदा प्रसाद धिताल, बाबुराम नेपाली र साधुराम नेपाली रहेका छन् । अन्तिम उम्मेदवार चयन पार्टीको केन्द्रीय निर्णयबाट तय हुने जनाइएको छ ।
प्रतिक्रिया