थारु समुदायमा माघीको रमझम

आइतबार, २७ पुस २०८२, १३ : २४

काठमाडौं - माघ महिनामा पर्ने माघी पर्व थारु समुदायको ठूलो चाड हो । यसलाई  थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । माघको पूर्वसन्ध्यामा अहिले थारु वस्तीहरुमा माघको उमंग छाएको छ । शहर पसेकाहरु गाउँ फिर्दैछन् भने काठ–दाउरा अनि दुनाटपरीको जोहोमा सिंगो बस्ती जुटेको छ । यति मात्र होइन, अहिले माघ महोत्सवको रुपमा उत्सवहरु शुरु भएका छन् । विवाह संस्कारसँग जोडिएको डोली बोकेर झाँकी मात्रै निकालिएन, थारु समुदायको लोक संस्कृतिसँग जोडिएका नृत्यहरु समेत प्रस्तुत गरिएका छन् । माघ महिनामा गाइने धुम्रु समेत गाइएको छ । शनिबार लमहीको सार्वजनिक बगैंचा थारु कला, संस्कृति, परम्पराले गुन्जायमान बन्यो । विभिन्न वस्तीबाट आएका झाँकीको प्रस्तुतिले माघ भित्रिएको संकेत मात्रै गरेन थारु समुदायलाई आफ्नो परम्पराप्रति गौरवान्वित बनाएको छ । ‘माघ हाम्रो संस्कार हो । हाम्रो परम्परा हो । हाम्रो नयाँ वर्ष हो’– थारु कल्याणकारिणीसभा लमहीका अध्यक्ष शिवप्रसाद चौधरीले भने– ‘हाम्रो परम्परा जोगाइराख्न आवश्यक छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण जरुरी बन्यो ।’

माघीको सन्दर्भमा थारु कल्याणकारिणीसभा लमहीले माघ सांस्कृतिक महोत्सव–२०८२ को आयोजना गरेको हो । नगर अध्यक्ष शिवप्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले थारु समुदाय कला, संस्कृति तथा सम्पदामा धनी भएको बताए । उनले समुदायको पहिचान उसको भाषा, कला संस्कृति, भेषभूषाबाट चिनिने भएकाले यसको संरक्षण अति जरुरी रहेको धारणा राखे । स्थानीय सरकारले बडघर ऐन निर्माण गरेर मान्यता दिएको जानकारीसमेत दिनुभयो । ‘हामी संस्कृतिमा धनी छौं । हाम्रै परम्पराहरु छन् । तिनलाई प्रबद्र्धन गर्न जरुरी छ’– उनले भने– ‘स्थानीय सरकारले यसमा सक्दो सहयोग गर्छ ।’

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, थारु कल्याणकारिणीसभा क्षेत्र नं। १ का पूर्वअध्यक्ष राजेन्द्रप्रसाद चौधरी, वर्तमान अध्यक्ष गोकुलप्रसाद चौधरी, लमही नगरपालिकाका पूर्व नगर प्रमुख कुलबहादुर केसी, नेकपा एमालेका डा. सुरामणि बेलबासे, नेपाली कम्युनिष्ट पार्टीका दिलकुमार श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, होटल व्यवसायी समिति लमहीका अध्यक्ष हिमन्तप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाहलगायतका वक्ताहरुले कला संस्कृतिलाई व्यावसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मनगाउँको बर्का नाच, डोढहीको लठ्ठी नाच, सेम्रहवाको बर्का नाच, हस्नापुरको लठ्ठी नाच, बिजुलीपुरको बर्का नाच, सुन्डबरी, लंगडी र कोलहीको झुम्रा नाच, जहेरे र गणेशपुरकको मघौटा नाच प्रस्तुत गरिएको थियो ।

यसैगरी थारु कल्याणकारिणीसभा लमहीले लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीलाई नागरिक अभिनन्दन गरेको छ । स्थानीय सरकारको तर्फबाट बडघर ऐन निर्माण गरेर कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै नगर प्रमुखलाई नागरिक अभिनन्दन गरिएको हो । यसैगरी बडघर ऐन निर्माणमा योगदान पु¥याएको भन्दै समाजसेवी हल्लुप्रसाद चौधरीलाई सम्मान गरिएको छ । कार्यक्रममा थारु समुदायबाट नेपाल सरकारको सुरक्षा निकायको उच्च ओहोदामा पुगेको र राष्ट्रसेवामा तल्लिन भएको भन्दै प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी शारदाप्रसाद चौधरी, जेनजी आन्दोलनको क्रममा प्रदेश संरचनाको सुरक्षामा महत्वपूर्ण समन्वय गरेर जोगाउन सफल भएको भन्दै प्रहरी निरीक्षक गीताप्रसाद चौधरी, लमही क्षेत्रको शान्ति सुरक्षामा अतुलनीय भूमिका निर्वाह गरेको भन्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषनराज पाण्डेयलाई सम्मान गरिएको छ ।

आइतबार, २७ पुस २०८२, १३ : २४

प्रतिक्रिया