निजी मेडिकल कलेज एनजिओ बनाउने प्रस्तावले चिकित्सा शिक्षा संकटमा

सोमबार, २८ पुस २०८२, १२ : २९

काठमाडौं- नेपालको चिकित्सा शिक्षालाई धरासायी बनाउन ठूलै कसरत भइरहेको बताइएको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले निजी मेडिकल कलेजहरुलाई एनजिओ अर्थात् गैरनाफामुलक बनाउन प्रस्ताब गरेर समग्र चिकित्सा शिक्षालाई नै धरासायी बनाउन खोजिएको बताइएको हो ।

नेपाल मेडिकल कलेजको २६ औं वार्षिक साधारण सभामा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेजहरुलाई एनजिओकरण गरेर निजी लगानी नै सिध्याउने खेल भइरहेकोले सम्पूर्ण मेडिकल कलेजहरु एकजुट हुनुपर्ने जिकीर गरे । ऐनको दफा ४७ को उपदफा १ अनुसार ऐन प्रारम्भ भएको मितिले दश वर्षपछि नेपाल राज्यभित्र सञ्चालित चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः गैर नाफामुलक र सेवामुलक संस्थाको रुपमा रहने भनिएकोले निजी क्षेत्रबाट अरबौं लगानीमा खुलेका मेडिकल कलेजहरुको भविष्य के हुने चिन्ताको विषय भएको उनको भनाई छ ।

‘यो ऐन लागू भए सबै निजी मेडिकल कलेजहरु कि बन्द गर्नुपर्ने अवस्था आउँछ, कि सरकारलाई बुझाउनु पर्ने हुन्छ । यो ऐन नेपालको चिकित्सा शिक्षा सुधार्न भन्दापनि विगार्न ल्याइएको देखिन्छ । निजी क्षेत्रलाई समाप्त पार्ने उद्देश्यका साथ आएको देखिन्छ ।’ अस्थिर राजनीतिका कारण मुलुकको विकासमा अवरोध भइरहेको र त्यसको मारमा चिकित्सा शिक्षा समेत रहेको प्राडा अन्सारीले औंल्याए । नेपालको चिकित्सा शिक्षा विश्वबजारमा विक्ने भएपनि केही व्यक्तिहरु यसलाई सिध्याउन लागि परेको उनको जिकीर छ ।

निजी क्षेत्रकै कारण राज्यले स्वास्थ्य क्षेत्रमा फड्को मारेको चर्चा गर्दै प्राडा अन्सारीले देशको स्वास्थ्य सेवामा निजी क्षेत्रले पुर्याएको योगदानलाई राज्यले नदेखेकोमा गुनासो गरे । ‘स्वदेशमै बसेर लगानी गर्यौं, राज्यलाई करोडौं राजस्व तिर्छौ, जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा दिएका छौं, राज्यले लगाएको भन्दा कम शुल्कमा दक्ष जनशक्ति उत्पादन गरका छौं, रोजगारी सृजना गरेका छौं । तैपनि हामीहरु उहाँहरुका नजरमा मेडिकल माफिया भएका छौं । यो भन्दा विडम्बना के हुनसक्छ ?’ प्रा.डा. अन्सारीले प्रश्न गरे।

साधारण सभामा कलेजको गत आर्थिक वर्षको प्रगति विवरण पेश गर्दै उनले कलेजको शिक्षा, स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र गुणस्तरीय बनाउन प्रयासरत रहेको बताए । गत आर्थिक वर्षमा निर्धारण गरिएका लक्ष्यहरु पुरा भइरहेको उनको भनाई छ ।

२०५६ सालमा नेपालमै पहिलो पटक नेपालीहरुद्वारा नेपालीका लागि भन्ने नाराका साथ स्थापना गरिएको कलेजमा हाल १६ वटा शैक्षिक कार्यक्रम सञ्चालित रहेको जानकारी दिँदै अध्यक्ष अन्सारीले हालसम्म २३२९ जनालाई डाक्टर बनाई सकिएको र कलेजको उत्तिर्ण प्रतिशत ९८ प्रतिशत रहेको दावी गर्नुभयो । ‘हाम्रो उत्तिर्ण प्रतिशत ९८ देखि १०० प्रतिशत छ यो अत्यन्त राम्रो पक्ष हो ।’ उनले भने ।

गत वर्षदेखि कलेजले शैक्षिक कार्यक्रम, स्वास्थ्य सेवा, पूर्वाधार निर्माण र विस्तारमा ठूलो प्रगति गरेको भन्दै प्रा।डा। अन्सारीले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा कलेजले हासिल गरेको सफलता प्रशंसायोग्य भएको बताउनु भयो । ‘एमविविएसमा १ सय सिट थियो, अहिले १३० भएको छ, विएस्सी नर्सिङमा ४० बाट ५० भसक्यो, डिएमएमसिएचमा ५ बाट ७ वटा भइसक्यो । यो कलेजको भौतिक संरचना र गुणस्तरको प्रतिफल हो । यसका लागि सम्पूर्ण मेडिकल कलेज परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

कलेजले सन् २०२५ मा एमसिएच न्यूरो सर्जरी तथा डिएम न्यूएटोलोजी कार्यक्रम सुरु गरिसकेको, सोध र अनुसन्धानको लागि क्षमता अभिबृद्धि गरिएको जानकारी गराउँदा अध्यक्ष अन्सारीले सर्वसुलभरुपमा जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन कलेज प्रतिबद्ध रहेको बताए । कलेजमा हाल, गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य बीमा कार्यक्रम सहित नेपाल सरकारका विभिन्न स्वास्थ्य बीमा कार्यक्रमहरु चालू रहेका छन् । स्वास्थ्य बीमा बोर्ड, सामाजिक स्वास्थ्य सुरक्षा कोष तथा कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको स्वाथ्य बीमा कार्यक्रम रहेकोले दिनप्रतिदिन सेवाग्राहीहरुको भिड बढेको छ । यसका अलावा कलेजले विपन्न, असहाय नागरिकहरुका लागि १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउँदै आएको छ भने, नेपाल सरकारकै निःशुल्क डायलाइसिएस सेवा समेत उपलब्ध छ ।

साधारणसभामा प्रगति विवरणहरु प्रस्तुत गर्दै अध्यक्ष प्राडा अन्सारीले गत वर्ष गरिएका प्रतिबद्धताहरु पुरा भइसकेको जनाए । उनका अनुसार दन्त रोग विभागको अत्याधुनिक नयाँ भवन निर्माण भइसकेर सञ्चालनमा छ । १२८ स्लाइसको इन्सेन्टिभ सिटी स्क्यान, १.५ टेस्लाको एमआरआई जडान गरि सञ्चालनमा आइसकेको छ । नवजात शिशुहरुको श्रवण क्षमता जाँच गर्ने अत्याधुनिक उपकरण ओएई स्थापना गरिएको छ । कार्डियोलोजी विभाग अन्तरगत क्याथ ल्याब उपकरण खरिद भई सञ्चालनमा ल्याइएको छ । साथै एडभान्स इको कार्डियोग्राफी पनि सञ्चालनमा आएको छ । कार्डियोलोजी सेवाको प्रभावकारीता बढाउन १० वेडको कोलोनरी केयर युनिट स्थापना गरिएको अध्यक्ष डा अन्सारीले जानकारी गराए ।

यस्तै, आगामी दिनहरुमा कलेजको अस्पताल सेवालाई अझ उच्चस्तरीय बनाउन प्रोर्टेवल अल्ट्रासाउण्ड, पिटिओ, लेजर, ओसिटी एक्सरे र सिआर, डिजिटल एक्सरे रेड स्फेसिफिक ५६ किलोवाट उपकरण खरिद गर्ने लक्ष्य लिइएको छ । यसले कलेजको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कलेजले चाँडै विशेषज्ञ सेवाका रुपमा एक दर्जन सेवाहरुलाई एक्सटेन्डेड क्लिनिक सेवा (इएचएस) का रुपमा विस्तार गर्ने, यूरोलोजी, न्यूरोलोजी,  नेफ्रोलोजी, बर्न तथा प्लास्टिक सर्जरी, पेडियाट्रिक सर्जरी, इण्डोक्राइनोलोजी सेवाको ओपिडीलाई विस्तार गरी सेवा दिन लागि रहेको छ । यसैगरी, अंकोलोजी यूनिटलाई बढाएर किमोथेरापी, रेडियोथेरापी समेत स्थापना गरी क्यान्सर उपचार केन्द्र सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

शिक्षण सेवातर्फ विडिएसमा ६० जना विद्यार्थी माग गर्ने, विद्यार्थी पढाउन पूर्वाधार पुगेका सबै विभागहरुमा पिजी कार्यक्रम सञ्चालन गर्न पूर्वाधार र फ्याकल्टी समेत भएकोले चिकित्सा शिक्षा आयोगबाट स्वीकृति लिने, एमसिएच र डिएमलाई अन्य विभागहरुमा विस्तार गर्ने, विएस्सी नर्सिङ कोर्षलाई पूर्वाधार र फ्याकल्टी विस्तार गरी आगामी शैक्षिक सत्रदेखि ६० सिटमा सञ्चान गर्ने लक्ष्य लिइएको अध्यक्ष अन्सारीले जानकारी गराए ।

यसैगरी, ब्याचलर इन फिजियोथेरापी सञ्चालन गर्ने, एमविविएसको सिट बढाएर १५० वा १ सय सिटको २ सिफ्ट सञ्चालन गर्न माग गर्ने, सिटिइभिटीको पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न आवेदन दिइसकेकोले आवश्यक प्रक्रिया पुरा गर्ने, जनरल नर्सिङ सञ्चालन गर्ने लगायत कलेजका विभिन्न योजनाहरु साधारण सभा समक्ष पेश गरे । अध्यक्ष अन्सारीले पेश गर्नुभएको अघिल्लो वर्षको प्रगति विवरण र समिक्षा सर्वसम्मतले पारित गरिनुको साथै आगामी आर्थिक वर्षको कार्यक्रम र योजना समेत पारित गरिएको छ ।

साधारणसभामा कलेजका पूर्व अध्यक्ष तथा वर्तमान सञ्चालक समिति सदस्य डा. भोला रिजाल, प्रबन्ध निर्देशक तथा सञ्चालक समिति सदस्य डा.सबिहा यासमिन, सञ्चालक समिति सदस्यहरु डा. आनन्द प्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी, बैकल्पिक सञ्चालक समिति सदस्य डा. नुसरत जहाँ अन्सारीले समेत कलेजको बारेमा बोलेका थिए । 

सोमबार, २८ पुस २०८२, १२ : २९

प्रतिक्रिया