काठमाडौं- त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ ।
अस्पताल प्रशासनले एउटा सूचना जारी गर्दै स्वास्थ्य बीमाको दाबी रकम नपाएको भन्दै सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
अस्पतालका अनुसार स्वास्थ्य बीमाको दाबी रकम झन्डै ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। ‘बिरामीको चाप दिनहुँ वृद्धि हुँदै मासिक झन्डै ५ करोड रुपैयाँको हाराहारीमा खर्च हुने गरेको छ’, सूचनामा भनिएको छ, ‘तर, स्वास्थ्य बीमा बोर्डले ५० प्रतिशतमात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ।’
अस्पतालमा आउने बिरामीको उपचारका क्रममा बीमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको र अस्पतालले बारम्बार अस्पतालको रकमलाई अन्तिम रकम मानिदिन भनी विगत २ वर्षदेखि आग्रह गर्दा पनि सुनुवाइ नभएको सूचनामा उल्लेख छ।
आफ्नो आन्तरिक स्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक २ करोड रुपैयाँ घाटा भएकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया