काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा कतारस्थित प्रतिष्ठित सामाजिक–व्यावसायिक अगुवा राजु रेग्मीको नेतृत्वमा नेपालमा औषधि उद्योग क्षेत्रमा ऐतिहासिक र दूरगामी प्रभाव पार्ने विदेशी लगानी भित्रिएको छ। एनआरएनए पूर्वअध्यक्ष कुलप्रसाद आचार्यको सह नेतृत्वमा स्थापित माउन्टेन ग्लेसियर फार्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक फार्मास्युटिकल उद्योग स्थापना गर्न लागेको हो। परियोजनाको पहिलो चरणमा २५० करोड रुपैयाँ लगानी गरिनेछ भने क्रमिक विस्तारसँगै कुल लगानी १,००० करोड रुपैयाँभन्दा बढी पुर्याउने लक्ष्य लिइएको छ।
माउन्टेन ग्लेसियर फार्मास्युटिकल्स प्रालिको यो परियोजना नेपालकै औषधि उद्योग इतिहासमा प्रविधि, गुणस्तर र निर्यात क्षमताका दृष्टिले अद्वितीय मानिएको छ। पहिलो चरणमा प्यारेंटेरल प्रोडक्ट्स—इन्जेक्सन, इन्फ्युजन, भाइल तथा एम्पुल—जस्ता उच्च संवेदनशील र जीवनरक्षक औषधिहरू उत्पादन गरिनेछ। यस्ता उत्पादनका लागि आवश्यक पर्ने अटोमेटेड फिलिङ लाइन, क्लिनरुम (ISO 5),आइसोलेटर टेक्नोलोजी, रियलटाइम क्वालिटी मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिहरू प्लान्ट सेटअपमा प्रयोग गरिनेछ।
कम्पनीको सम्पूर्ण उत्पादन प्रक्रिया र प्लान्ट डिजाइनलाई USFDA तथा EU-GMPमापदण्डअनुसार विकास गरिनेछ। यस अन्तर्गत अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण, पूर्ण रूपमा भ्यालिडेटेड प्रणाली, डिजिटल डकुमेन्टेशन, ट्र्याक-एण्ड-ट्रेस टेक्नोलोजी तथा कडा गुणस्तर सुनिश्चित प्रणाली लागू गरिनेछ, जसले कम्पनीलाई सुरुदेखिनै विश्व बजारका लागि योग्य उत्पादकको रूपमा स्थापित गर्नेछ।
माउन्टेन ग्लेसियर फार्मास्युटिकल्स प्रालिले उत्पादन हुने औषधिहरू मुख्यतः गल्फ मुलुकहरू, युरोप तथा अन्य पश्चिमी देशहरूमा निर्यात गर्ने लक्ष्य राखेको छ। यस परियोजनाबाट हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने, उच्चस्तरीय प्रविधि नेपालमा भित्रिने र देशलाई औषधि आयातमा निर्भर अवस्थाबाट निर्यातमुखी राष्ट्रतर्फ रूपान्तरण गर्ने अपेक्षा गरिएको छ। औषधि क्षेत्रमा गरिएको यो अद्वितीय लगानीले नेपाललाई दक्षिण एसियाको उदीयमान फार्मास्युटिकल हबका रूपमा स्थापित गर्ने दिशामा ऐतिहासिक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।
उद्योगका अध्यक्ष संयोजक राजु रेग्मी एनआरएनएका उपाध्यक्षका रूपमा विश्वभरका प्रवासी नेपाली समुदायमा प्रभावशाली नेतृत्व प्रदान गर्दै आएका व्यक्तित्व हुन्। कतारमा रहँदै उनले सामाजिक सेवा, नेपाली श्रमिकको हकहित संरक्षण, उद्यमशीलता प्रवर्द्धन र नेपालमा दीर्घकालीन लगानी भित्र्याउने अभियानमा निरन्तर भूमिका खेल्दै आएका छन्। औषधि जस्तो संवेदनशील र उच्च प्रविधियुक्त क्षेत्रमा गरिएको उनको नेतृत्वलाई राष्ट्र निर्माणसँग जोडिएको दूरदर्शी कदमका रूपमा हेरिएको छ।
परियोजनाका लगानीकर्ता तथा ल्च्ल्ब् का पूर्व अध्यक्ष कुलप्रसाद आचार्यको अन्तर्राष्ट्रिय नेतृत्व अनुभव, नीति निर्माण तथा प्रवासी नेपालीलाई मातृभूमिसँग जोड्ने दीर्घकालीन दृष्टिकोण र कम्पनीकी एमडी डा.संगिता कार्कीको कोरियाबाट प्राप्त एजम् सहितको अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक दक्षताले माउन्टेन ग्लेसियर फार्मास्युटिकल्स प्रालिलाई विश्वस्तरीय औषधि उद्योगका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ। संगठनात्मक परिपक्वता र वैज्ञानिक नेतृत्वको संयोजनले कम्पनीलाई USFDA तथा EU-GMP अनुरूप सञ्चालन गर्दै दीर्घकालीन विश्वसनीयता हासिल गर्ने लक्ष्य लिइएको छ।
प्रतिक्रिया